१९ असार २०८३, शुक्रबार

निर्मला कुर्मी बेपत्ता प्रकरणः गृहले पठाएको पत्र ४१ दिनसम्म पनि पुगेन भूमि मन्त्रालय [पत्रसहित]

पुस ९, २०७८
निर्मला कुर्मी बेपत्ता प्रकरणः गृहले पठाएको पत्र ४१ दिनसम्म पनि पुगेन भूमि मन्त्रालय [पत्रसहित]

बाँके नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मीलाई बेपत्ता बनाइएको घटनाबारे गृह मन्त्रालयले पठाएको पत्र ४१ दिनसम्म पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेको छैन । 

गृह मन्त्रालयबाट सिंहदरवारभित्रै रहेको भूमि मन्त्रालयलाई लेखेको सुझाव कार्यान्वयनको पत्र अहिलेसम्म पुग्न सकेको छैन । 

कुर्मीलाई बेपत्ता बनाइएको घटनामा गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहले सुझाव कार्यान्वयन गर्न कात्तिक २८ गते पत्र पठाएको थियो । 

‘हामीले कुर्मी घटना समाधानमा भूमि व्यवस्था मन्त्रालयको भूमिका भएकाले सिफारिस बमोजिम कार्यान्वयन गर्न कात्तिक २८ गते नै पत्र पठाएका थियौं,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले लोकान्तरसँग भने, ‘धेरैजसो विषय भूमि व्यवस्था मन्त्रालयले सम्बोधन गर्नुपर्ने भएकाले हामीले पत्र पठाएका हौं ।’

गृहले ३ बुँदे सुझाव कार्यान्वयन गर्न पत्र पठाएको थियो । त्यसमा निर्मला कुर्मीको मृत्यु प्रकरण उनको जग्गा किनबेच नामसारी आदिका विषयहरूमा सूक्ष्म र गम्भीर रुपले अनुसन्धान गरेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन भनिएको छ ।

तर, यता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भने आफू कहाँ पत्र आइनसकेको बताएको छ । 

‘हामीकहाँ पत्र आइसकेको छैन,’ भूमि मन्त्रालयका प्रवक्ता जनकराज जोशीले लोकान्तरसँग भने, ‘हल्ला आएपछि हामीले मन्त्रालयमा कतै आएको छ कि भनेर खोज्यौं तर भेटिएन ।’

पत्र आए आफूहरूले सिफारिसबमोजिमको काम कारवाही प्रक्रिया अगाडि बढाउने प्रवक्ता जोशीको भनाइ छ । 

निर्मला कुर्मीलाई बेपत्ता पारिएको भन्दै अधिकारकर्मीहरूले जिल्ला प्रशासन अगाडि धर्ना दिँदै आएका थिए । त्यहाँबाट सरकार नसुनेपछि दबाब दिन पैदल यात्रा गरेर काठमाडौंसम्म आएर धर्ना दिएपछि असोज ३१ को मन्त्रिपरिषद्को निर्णयले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । त्यो समितिले कात्तिक २७ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । 

निर्मलालाई बेपत्ता पारिएको भन्दै २०७७ चैत २० गते ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दर्ता भएको थियो । साढे ४ बिघा घरजग्गा भूमाफियाले कीर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि दोषीलाई पक्राउ गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

करोडौं मूल्यको जग्गा हडपेको आरोपमा प्रहरीले रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई पक्राउ गरेको थियो । 

तीमध्ये आरोपित ८० वर्षीय कुबरबब्बन सिंहलाई अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छाडेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्