प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ ।
शुक्रवार सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरू हुने भएको हो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला छन् । समूह ‘बी’मा बैतडी, कैलाली, बझाङ र डोटी छन् ।
प्रतियोगिता अन्र्तगत पुस १४ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा भिड्दा दोस्रो खेलमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ । पुस १५ गते अछाम र डडेल्धुरा प्रतिस्पर्धा गर्दा अर्को खेलमा कञ्चनपुर र दार्चुला भिड्नेछन् ।
पुस १६ गते पहिलो खेलमा दार्चुला र डडेल्धुरा आमनेसामने हुँदा दोस्रोमा कञ्चनपुर र अछामबीच खेल हुनेछ । पुस १७ गते बैतडी र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
पुस १८ गते पहिलो खेलमा कैलाली र डोटी भिड्दा दोस्रोमा बैतडी र बझाङ आमनेसामने हुनेछन् । पुस १९ गते कैलाली र बैतडीबीच भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटी मैदानमा उत्रिनेछन् ।
सहभागीमध्ये शीर्ष २ मा पुग्ने टोलीबीच पुस २० गते फाइनल भिडन्त हुने जनाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ । टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।
नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुँदैछ ।