१२ असार २०८३, शुक्रबार

प्रहरीका एसएसपीले किन रोजे मृत्यु ? यस्ता छन् यादव तनावमा रहनुका कारण

पुस १०, २०७८
प्रहरीका एसएसपीले किन रोजे मृत्यु ? यस्ता छन् यादव तनावमा रहनुका कारण

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रवार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए ।

उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए तर बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए ।

केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।

भान्छेले देखेको दृश्य थियो एसएसपी यादव आफ्नै कोठामा झुण्डिरहेको अवस्था । यो घटनापछि के गर्ने भन्ने कुरामा प्रहरी पनि अलमलमा पर्‍यो । त्यसपछि प्रहरी उनका पारिवारिक सदस्य नआउन्जेल ढोका नखोल्ने निष्कर्षमा पुग्यो ।

                                                                                                                                                                                                                                                                                                                एसएसपी यादवका परिवार काठमाडौंमा बस्दै आएका थिए । शुक्रवार साँझ मात्र उनका बुवा, भाइ र पत्नी घटनास्थल पुगेपछि ढोका खोलिएको थियो । प्रहरीले फरेन्सिक जाँचका लागि विशेषज्ञ डाक्टरलाई पनि त्यहीँ बोलाएको थियो ।

हालसम्म प्रहरीले मृत्युको कारणबारे केही बताएको छैन । यद्यपि सोधपुछका क्रममा कार्यालयका कर्मचारीले बिहान खाजा लिएर जाँदासम्म उनी सामान्य अवस्थामा रहेको जानकारी दिएका छन् ।

अपहरण तथा शरीर बन्धक घटनामा संलग्न रूपन्देही अमुवाका अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा एसएसपी यादव सहितलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरिरहेको जनाइएको छ । सो अभियोगमा टण्डनविरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरूले म्याद गुजारेका थिए ।

घटनामा यादव सहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया शुरू भइसकेको थियो ।

प्रहरी प्रधान कार्यालयले अपहरण तथा शरीर बन्धक घटनामा संलग्न टण्डनलाई उन्मुक्ति दिएको आरोपमा एसएसपी भीम ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । स्रोतका अनुसार छानबिन समितिले एसएसपी यादवसहित २० जनालाई दोषी ठहर गरेको थियो । २० मध्ये ५ जनाले अवकाश पाइसकेका छन् ।

छानबिन समितिले यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

२०६४ माघ २९ गते टण्डनको समूहले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलासा भएपछि बहालवाला १५ जना प्रहरीलाई लिखित स्पष्टीकरण मागिएको स्रोतले जनाएको छ । अभियोगमा टण्डनविरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरूले म्याद गुजारेका थिए ।

१५ जना को–को ?

बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण तथा शरीर बन्धक बनाएको घटनामा संलग्न टण्डनलाई उन्मुक्ति दिएको आरोपमा छानबिन समितिले विभागीय कारबाही गर्न सिफारिस गरेका सबैभन्दा उपल्लो पदका प्रहरी अधिकृत ३ जनामा एसएसपी यादव, एसएसपी कृष्णकुमार महत र एसएसपी दीपक थापा रहेका छन् । 

एसपीहरूमा दानबहादुर कार्की, दिनेशकुमार आचार्य, दिलिप घिमिरे, महेन्द्र खड्का, मुकुन्द मरासिनी छन् । डीएसपीहरूमा पवनकुमार भट्टराई, केशव भट्टराई, डिलबहादुर मल्ल, भीमलाल भट्टराई, प्रतीकसिंह राठौरलगायत छन् ।

प्रहरी प्रधान कार्यालयको कानून शाखाले ५ जनालाई मात्रै स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सोधिएकोमा तत्कालीन मुद्दा शाखामा कार्यरत २ जना डीएसपी, २ जना इन्सपेक्टर र १ जना असई रहेका जनाइएको छ । उनीहरूले स्पष्टीकरण बुझाइसकेको भए पनि कारबाहीबारे निर्णय भइनसकेको जनाइएको छ ।

पूर्व आईजीपी पनि दोषी

छानबिन समितिले घटनामा पूर्व आईजीपी ठाकुर ज्ञवालीको समेत संलग्नता देखाएको छ । त्यसबेला उनी डीएसपी थिए ।

तत्कालीन डीएसपी जगतमान श्रेष्ठ र राजकुमार बैदवार, तत्कालीन प्रहरी निरीक्षक नवीन क्षत्री र तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापालाई दोषी ठहर गरेको छ । यी पाँचै जनाले अवकाश पाइसकेका छन् ।

अर्यालको अपहरण हुँदा तत्कालीन डीएपी जगतमान श्रेष्ठ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख थिए । श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी) दर्जाबाट अवकाश पाएका छन् ।

तनावमा थिए यादव

नवलपरासीको रामग्राम नगरपालिका–२का यादव पछिल्लो समयमा तनावमा रहेका उनीनिकट व्यक्तिहरूको भनाइ रहेको छ । वृत्ति विकासमा पछाडि परेको पीडा त थियो नै, अपहरण तथा शरीर बन्धक घटनामा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोप लागेपछि उनी झन् तनावमा थिए ।

जागिर अवधिभर विवादमा नतानिएका उनमा टण्डनलाई उन्मुक्ति दिएको आरोपले भने बेचैनी बढाएको थियो ।

त्यसो त उनले हालका महानिरीक्षक शैलेश थापा क्षत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षकको खुला प्रतिस्पर्धामा नाम निकाल्न सफल भएका थिए । क्षत्री लगायतले वैशाखमा नियुक्ति पाउँदा यादवसहित ४० जना वैकल्पिकमा परे । उनले चैतमा मात्रै नियुक्ति पाए ।

त्यतिबेला वैकल्पिकमा पर्नेमा हालका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा पनि थिए । यीमध्ये १ जना आगामी वैशाख तेस्रो साता आईजीपी बन्दैछन् । साथीहरू आईजीपी बन्न लागिसक्दा आफू डीआईजी पनि बन्न नसकेको र एसएसपीबाटै घर जानुपर्ने अवस्था आउन लागेकोमा उनी निराशजस्तै देखिन थालेको निकटस्थहरूको भनाइ छ ।

नेपाल प्रहरीमा एसएसपीका लागि भएको ५५ वर्षे उमेर हदको व्यवस्थाका कारण उनले माघ १५ गते अवकाश पाउँदै थिए । डीआईजीमा बढुवा भएको अवस्थामा भने उनी थप १ वर्ष सेवामा रहन्थे ।

त्यसो त उनले आफन्त र साथीहरूसँग पनि आफू अन्यायमा परेको गुनासो गर्दै आएका थिए । उनीमाथि भएको अन्याय उनकी पत्नी रुपमकुमारीलाई पनि राम्रोसँग थाहा थियो ।

शुक्रवार बिहान ९ बजेतिर यादव पत्नी रुपमकुमारीले स्ट्याटस नै लेखेकी थिइन् । जसमा भनिएको थियो, ‘यो कलियुग भए पनि अझै जीत सत्यकै हुन्छ ।’

त्यसो त एसएसपी यादव केही दिनअघि बेहोस भएका थिए । उनले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएका थिए । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्