
विश्व राजनीतिमा डिसेम्बर २५ महत्त्वपूर्ण दिन हो । तीस वर्षअघि सन् १९९१ डिसेम्बर २५ मा सोभियत संघ पतन भएको थियो ।
तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभले त्यसदिन पदबाट राजीनामा दिँदै सोभियत संघ विघटन भएको जानकारी दिएका थिए ।
त्यसैदिन हँसिया र हतौडा चित्रित सोभियत झण्डा झारेर तीनवटा रंग भएको रुसी झण्डा फहर्याइएको थियो । त्यसको भोलिपल्ट डिसेम्बर २६ मा सोभियत संघको औपचारिक विघटन गरिएको हो ।
दोस्रो विश्वयुद्ध सकिएपछि ४० वर्षसम्म अमेरिका र सोभियत संघबीच शीतयुद्ध चलेको थियो । सोभियतहरूलाई असफल पार्नका लागि अमेरिकाले भरमग्दूर प्रयास गरेको थियो तर सोभियत संघ यति छिट्टै पतन होला भनी उसले पनि सोचेको थिएन ।
कम्युनिस्ट पार्टीका महासचिव गोर्भाचोभले सन् १९८५ मा शासन थाल्दा सोभियत संघमा राजनीतिक र आर्थिक सुधारको प्रयास शुरू गरेका थिए । तर त्यसक्रममा उनले राज्यमाथिको नियन्त्रण खुकुलो बनाउँदै लगेपछि आन्तरिक संघर्ष चुलिँदै गएर सोभियतको पतन भएको थियो ।
त्यतिखेर कम्युनिस्ट पार्टीलाई सोभियत साम्राज्य धान्न गाह्रो परिरहेको थियो अनि अमेरिकासँगको प्रतिस्पर्धामा हातहतियारमा अनावश्यक खर्च गर्नु परिरहेको पनि थियो । त्यस्तो अवस्थामा आर्थिक वृद्धिका लागि गोर्भाचोभले पेरेस्त्रोइका नामक आर्थिक सुधार अभियान चलाउँदै कम्युनिस्ट पार्टीमा परिवर्तन ल्याउन खोजेका थिए । त्यससँगै स्वतन्त्रता र खुलापनलाई जोड दिने ग्लासनोस्त पनि उनले ल्याएका थिए ।
तर गोर्भाचोभको खुकुलो शासनसँगै सोभियत संघअन्तर्गतका १५ वटा गणराज्यहरूले आफूलाई क्रमशः स्वतन्त्र घोषणा गर्दै गए । सन् १९८९ मा पूर्वी र पश्चिमी जर्मनीलाई छुट्ट्याउने बर्लिनको पर्खाल ढलेपछि शीतयुद्ध औपचारिक रूपमा समाप्त भयो ।
वर्षौंसम्म आर्थिक कुव्यवस्थाका कारण भित्रैबाट जर्जर भइसकेको सोभियत साम्राज्य टिक्ने कुनै सम्भावना थिएन । त्यसमाथि गोर्भाचोभले स्वास्थ्यका कारण शासन चलाउन नसक्ने घोषणा गरेका थिए अनि उनीविरुद्ध बोरिस येल्तसिन समूहले कू पनि गरेको थियो । सोभियत संघको पतन अवश्यम्भावी बन्दै गएको थियो ।
वास्तवमा गोर्भाचोभले आर्थिक सुधार भन्दा पनि राजनीतिक खुलापनलाई जोड दिँदा सोभियत संघ पतन भएको हो । आर्थिक रूपमा बलियो बनेपछि मात्र लोकतान्त्रिक उदारवादलाई प्रोत्साहन गरेको भए शायद सोभियत संघ बाँच्थ्यो होला । राजनीतिक खुकुलोपनको फाइदा उठाउँदै सरकारप्रतिको अविश्वास तथा अवहेलना फैलिने कदमहरू चालिएपछि गणराज्यहरू क्रमशः सोभियत संघबाट टुक्रिँदै गएका हुन् ।
चीनले यसबाट गतिलो पाठ सिकेको इतिहासले देखाउँछ । माओ चतोङको मृत्युपछि तङ स्याओपिङले आर्थिक सुधार तथा खुलापनको नीति अपनाउँदै चीनमा पूँजीवादी क्रान्ति गर्दै देशलाई विकासको बाटोमा डोहोर्याए ।
सन् १९८९ मा आर्थिक सुधारको स्वाद चाख्दै पश्चिमी शैलीको उदारवादी लोकतन्त्रको माग गर्नेहरूले प्रदर्शन गर्दा थ्यानअनमन स्क्वेयर घटना हुन पुग्यो । आर्थिक रूपमा पूर्ण सबल नबनिकन चीनले उदारवादी लोकतन्त्र अँगालेको भए सोभियत संघकै जस्तो नियति बेहोर्नुपर्ने हुन्थ्यो भन्ने कुरा तङले राम्र्ररी बुझेको इतिहासले देखाएको छ ।
सोभियत संघ पतन भएपछि अमेरिका प्रफुल्लित भयो । फ्रान्सिस फुकुयामा लगायतका राजनीतिक चिन्तकहरूले यसलाई इतिहासको अन्त्यको क्षण घोषणा गरे । फुकुयामाले उदारवादी पूँजीवादी लोकतन्त्र लामो समयसम्म एकछत्र राज गर्ने पनि बताए । अमेरिकाको एकध्रुवीय शासन शुरू भएको विश्लेषण गर्न थालिएको थियो ।
सोभियत संघको पतनपछि रुसको आर्थिक स्थिति निकै कमजोर भएको अवस्थामा विभिन्न देशका पूँजीपतिहरू प्रवेश गरे । सोभियतोत्तर रुसका प्रथम राष्ट्रपति बोरिस येल्तसिनले सामूहिक निजीकरण, मूल्य उदारीकरण, रुसी मुद्रा रुबलको स्थिरताकरण लगायतका आर्थिक निर्णय गरेपछि पूँजीपतिहरू सक्रिय भएका थिए ।
निजीकरण अभियानका कारण सन् १९९४ को मध्यसम्ममा रुसको ७० प्रतिशत अर्थतन्त्र निजी कम्पनीहरूको हातमा गएको थियो । सन् १९९६ को राष्ट्रपति निर्वाचन आउँदै गर्दा येल्तसिनले सीमित धनीमानीहरूलाई प्राकृतिक स्रोतको स्वामित्व दिलाए ।
यस्ता ‘ओलिगार्क’हरूको कब्जामा अर्थतन्त्र पुगेपछि आर्थिक असमानता चुलिएर सामान्य जनतालाई जीवनयापन गर्न नै धौधौ पर्न थालेको थियो । केही दिनअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले येल्तसिनको निजीकरण अभियानको समयताका आफूले अतिरिक्त कमाइका लागि मस्कोका सडकमा ट्याक्सी चलाएको समेत खुलासा गरेका थिए ।
एकातिर जनता महंगीको मारमा परेका थिए भने अर्कातिर देशबाट लगभग १५० अर्ब डलर बराबरको पूँजी बाहिरिइरहेको थियो । अनि सन् १९९७ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा शुरू भएको आर्थिक संकट रुससम्म पुगेपछि रुसी मुद्रा रुबल मुद्रास्फीतिको मारमा परेको थियो ।
येल्तसिनले स्वास्थ्य बिग्रेका कारण शासनभार पुटिनलाई सुम्पेपछि भने रुसको अर्थतन्त्र लगातार उकालो लागिरह्यो । सन् २००० देखि २००२ को बीचमा पुटिनले अनेकौं आर्थिक सुधार गरे । उनले कर प्रणालीलाई सरल बनाए र कारोबार दर्ता गर्न तथा अनुमतिपत्र लिन सहज तुल्याए । अनि कृषियोग्य भूमिलाई उनले निजीकरण गरे ।
सबभन्दा महत्त्वपूर्ण कुरा, उनले ओलिर्गाकहरूको कब्जामा रहेका कम्पनीलाई राज्यको नियन्त्रणमा ल्याए । सन् २००३ मा देशको सबभन्दा सफल तेल कम्पनी युकोसलाई नियन्त्रणमा लिएपछि उनले आर्थिक क्षेत्रमा रणनीतिक रूपमा महत्त्वपूर्ण अन्य कम्पनीलाई पनि राष्ट्रियकरण गरे ।
यसैबीच तेलको मूल्य पनि बढेपछि देशमा आर्थिक वृद्धि हुन थाल्यो । एक दशक आर्थिक अव्यवस्थाका कारण पिल्सिएका जनताले पुटिनको नेतृत्वमा समृद्धि हासिल गरे । त्यसले नै पुटिनलाई लोकप्रिय बनायो ।
पुटिनको नेतृत्वमा रुस समृद्ध मात्र नभई भूराजनीतिक रूपमा बलियो पनि बनेको छ । यस भूराजनीतिक सशक्ततालाई पश्चिमले रुसको आक्रामक र विस्तारवादी नीति भनी दानवीकरण गर्न खोजेको छ ।
तर आफ्नो प्रभावक्षेत्रका रूपमा रहेको छिमेकमा पश्चिमी सैन्य गठबन्धन नेटोले विस्तार गर्न खोजेकोमा सुरक्षा खतरा अनुभव गरेर रुसले कदम चालिरहेको हो भन्नु यथार्थवादी सोच हो । सन् २०१४ मा पुटिनले रुसविरुद्धको घेराबन्दीको विषय उठाएका थिए ।
आफ्नो छिमेकको भूगोलका कारण रुसलाई सधैं घेराबन्दीको तनाव भइरहन्छ । रुसको सीमा जोडिने युरोपको समथर भूमिमा प्राकृतिक बाधाअवरोध नभएकाले इतिहासमा धेरैपटक त्यताबाट आक्रमणहरू भएका छन् ।
पुटिनले युक्रेनमा दबाब दिनका लागि एक लाखभन्दा बढी सैनिकहरू सीमा नजिक तैनाथ गर्नुमा त्यही भूगोलले काम गरेको छ । बेलायती भूराजनीतिक विश्लेषक टिम मार्शलले आफ्नो पुस्तक ‘प्रिजनर्स अफ जियोग्राफी ः टेन म्याप्स द्याट टेल यू एभ्रीथिङ यू नीड टु नो अबाउट ग्लोबल पोलिटिक्स’मा लेखेका छन्, ‘पूर्वी युक्रेनमा किन पहाडहरू नभएको भनी पुटिनले ईश्वरलाई दिनदिनै सोध्छन् ।’
एकातर्फ युक्रेनको भूमि हुँदै शत्रुहरू सजिलै रुसमा आइपुग्ने खतरा अनि अर्कोतर्फ रुसलाई जलप्रवाहयोग्य समुद्र (वार्म वाटर सी) को अभावले गर्दा नै तदनुरूपको भूरणनीति बनाउने आवश्यकता हुन्छ । त्यसैले वार्म वाटर सी पोर्टको उपयोगका लागि युक्रेनको क्राइमियालाई सन् २०१४ मा रुसले हात पारेको हो ।
त्यस्तै सन् २००८ मा रुसले जर्जियामा आक्रमण गरेर त्यसलाई आफूअनुकूलको सुरक्षाक्षेत्र बनाउनुमा पनि भूरणनीतिक कारण छ । नेटोले जर्जियालाई पनि सदस्य बनाउन खोजेपछि रुसले आफ्नो सुरक्षाका लागि त्यहाँ आक्रमण गरेर लगभग २० प्रतिशत भूमि नियन्त्रणमा लिएको हो ।
जर्जियामा नेटोको उपस्थितिले रुसको रणनीतिक रूपमा महत्त्वपूर्ण चेचेन्या क्षेत्र जोखिममा पर्छ । वास्तवमा भन्ने हो भने रुसलाई घेराबन्दी गर्नका लागि नेटोले चालेको अनेकौं कदमको जवाफ मात्र रुसले फर्काइरहेको हो ।
सोभियत संघको पतनपछि पुटिनको नेतृत्वमा आर्थिक र भूराजनीतिक शक्ति हासिल गरेको अनि चीनसँगको सम्बन्धलाई घनीभूत बनाएको रुस बहुध्रुवीय विश्वको बलियो ध्रुव बनेको छ । उता अमेरिका भने सोभियत संघको पतनपछिको उन्मादमा बाटो बिराएर अनावश्यक युद्धमा फस्दै गई एकध्रुवीय पकड गुमाउन पुगेको छ ।
आफ्नो सुरक्षाका लागि शक्तिप्रदर्शन गर्न रुस हिचकिचाएको छैन र उसका कदमलाई पश्चिमले रोक्न सक्दैन भन्ने तथ्य जर्जियाको अब्खाजिया र युक्रेनको क्राइमियामाथि रुसी नियन्त्रणले नै स्पष्ट पारिसकेका छन् ।
सुरक्षाका लागि रुसले चालेको कदमलाई लिएर पश्चिमी सञ्चारमाध्यममा सोभियत साम्राज्यको पुनरागमनको इच्छा देखाइएको भन्ने भाष्य निर्माण गरिएको छ । सन् २००५ मा पुटिनले देशको नाममा गरेको वार्षिक सम्बोधनका क्रममा सोभियत संघको विघटनलाई बीसौं शताब्दीको सबभन्दा ठूलो राजनीतिक प्रलय भनेका थिए । अनि त्यसको दुई वर्षपछि जर्मनीको म्युनिखमा उनले सम्बोधन गर्दै रुसलाई पश्चिमले अपमान गरेको बताएका थिए ।
पुटिनका यी भाषणहरूलाई सोभियत साम्राज्य फर्काउने आकांक्षा भन्दा पनि रुसको सुरक्षाका विषयमा पश्चिम संवेदनशील हुनु जरूरी छ भन्ने चाहनाका रूपमा हेर्नुपर्ने हुन्छ ।
त्यसो त गत सेप्टेम्बर महिनामा रुसको स्वतन्त्र सर्वेक्षण संस्था लेभादाले प्रकाशन गरेको एक सर्वेक्षण परिणाममा ४९ प्रतिशत रुसीहरूले सोभियत राजनीतिक प्रणालीप्रतिको मोह देखाएको पाइएको छ । तर चाहना राख्दैमा सोभियत प्रणाली तथा साम्राज्य फर्किने सम्भावना देखिँदैन ।