
अफगानिस्तानमा तालिबान सरकारले कारका चालकहरूलाई कारभित्र संगीत नबजाउन लिखित निर्देशन दिएका छन् ।
अनि हिजाब लगाएका महिलालाई मात्र कारमा राख्न पनि उनीहरूले उर्दी जारी गरेका छन् ।
धार्मिक मामिलासम्बन्धी मन्त्रालयले यो निर्देशन जारी गरेको काबुलको एक स्थानीय समाचारपत्रले जनायो ।
पाँच महिनाअघि सत्तामा आएदेखि तालिबानले अफगानिस्तानको दैनिक जीवनमा अनेकौं बन्देज लगाएको छ । दुई दशकसम्म अड्डा जमाएर बसेको अमेरिकालाई धपाएपछि तालिबानले शरिया कानूनबमोजिमको निर्देशन जारी गरिरहेको छ ।
गत नोभेम्बर महिनामा उक्त समूहले टेलिभिजनमा महिलाले खेल्न नहुने घोषणा गरेको थियो । महिला पत्रकारहरूलाई स्क्रीनमा देखिँदा कपाल छोप्ने वस्त्र लगाउन पनि भनेको थियो ।
महिलाको शिक्षा तथा रोजगारीको अवसरलाई तालिबानले सम्मान नगर्ने भनी अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ ।