
१ नम्बर प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई दिने सेवासुविधाबारे हालसम्म कुनै निर्णय गरेको छैन । प्रदेशले ३ वटा सरकार पायो तर ३ वटै सरकारका मुख्यमन्त्रीले पद सकिएपछिको सेवासुविधाका विषयमा कुनै निर्णय गरिसकेका छैनन् ।
प्रदेश सरकारका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले पदमुक्त भएपछिको सेवासुविधाका विषयमा कुनै निर्णय नभएको बताए । पूर्व मुख्यमन्त्रीलाई सेवासुविधा दिनेबारे कुनै नियमकानून नभए पनि पूर्व मुख्यमन्त्री शेरधन राईले एउटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयबाट लिएको को१झ ५६५ नम्बरको गाडी राईले फिर्ता नगरी प्रयोग गरिरहेका छन् । गाडी कसले प्रयोग गरिरहेको छ भन्ने विषयमा कुनै पनि कार्यालय जानकार छैन ।
आर्थिक मामिला मन्त्रालयले कुनै कागज नगरिकनै राईलाई गाडी दिएको छ । ‘माननीयज्यूले गाडी पठाइदिनू भन्नुभयो, हामीले गाडी पठायौं,’ आर्थिक मामिला तथा योजना मन्त्रालयको स्टोर शाखाका कर्मचारी फडिन्द्र अधिकारीले भने, ‘उहाँले पनि फोनमा भन्नुभएकाले केही कागज नगरी पठाइदियौं ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाडी फिर्ताका लागि पटक–पटक भने पनि गाडी फिर्ता नभएको उनले बताए ।
मुख्यमन्त्री कार्यालय भने गाडीका विषयमा बेखबर छ । ‘हामीलाई त्यो गाडी सम्बन्धी कुनै जानकारी छैन, केही कागजात आएका छैनन्,’ मुख्यमन्त्री कार्यालयको स्टोर शाखाका कर्मचारी किरण ढकालले भने, ‘गाडी दिँदा सरकारी कार्यालयले कागजातसहित पठाउनुपर्थ्यो, कागजात नपठाएपछि कसले बुझेको ? किन बुझेको ? केही जानकारी हुँदैन ।’
आर्थिक मामिला मन्त्रालयको कार्यभार समेत आफैंले सम्हालेका बेला तत्कालीन मुख्यमन्त्री शेरधनले फोनको भरमा गाडी झिकाएका थिए । शेरधनले तत्कालीन मन्त्री इन्द्र आङ्वोलाई बर्खास्त गरेर मन्त्रालयको कार्यभार आफैं सम्हालेका थिए ।
काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा गाडी राखिएको मन्त्रालयकै एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताए । ती कर्मचारीका अनुसार गाडी काठमाडौंबाटै तत्कालीन मुख्यमन्त्री राईले लगेका थिए । गाडी काठमाडौंमा तत्कालीन मुख्यमन्त्री राईकी पत्नी ज्याङ्वो शेर्पाले प्रयोग गर्ने गरेकी थिइन् । उनकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालयको चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचरहरू ल्याएर सरकारी निवासमा राखेका छन् ।
पूर्व मुख्यमन्त्री राईसँग प्रतिक्रिया लिन सम्पर्क गर्न खाजे पनि उनले फोन उठाएनन् । मुख्यमन्त्री कार्यालयका अनुसार शेरधनले चालक तथा इन्धन भने लिएका छैनन् ।