२२ असार २०८३, सोमबार

नेपाली गीत अन्तर्राष्ट्रिय बजारबाट वञ्चित

पुस १६, २०७८
नेपाली गीत अन्तर्राष्ट्रिय बजारबाट वञ्चित

नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेको छैन ।

सिसाकको पूर्णसदस्यता लिन नसक्दा नेपाली गीतसंगीत व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा जान सकेको थिएन । संगीत रोयल्टी संकलन समाज नेपालको पहलमा बल्ल सिसाक सदस्यता प्राप्त भएको हो । यद्यपि, सदस्यता प्राप्त गर्दैमा नेपाली गीतले अन्तर्राष्ट्रिय बजारमा मान्यता भने पाउनेछैन । नेपाली गीत अन्तर्राष्ट्रियकरण गर्न अझै धेरै प्रक्रिया बाँकी नै छन् ।

‘सिसाक सर्भर’ किन्न आर्थिक समस्या

समाजका महासचिव ‘बी’ (बद्री) पाण्डेले प्रक्रिया थालनी सुरु भएको राजधानीलाई बताए । उनका अनुसार अहिलेसम्म सिसाकबाट विश्वका १ सय २० देशले सदस्यतासँगै सेवा लिइरहेका छन् । जहाँ ती देशका रोयल्टी संकलनसम्बन्धी १ सय २८ समाज आबद्ध छन् । सो संस्थामा पहिलोपटक नेपाल सदस्य बन्न सफल भएको हो ।

‘संगीत रोयल्टी संकलन समाजबाट नेपाली गीत अन्तर्राष्ट्रिय बजारमा पठाउन सिसाक सदस्यता अपरिहार्यजस्तै थियो । त्यो कार्य सम्पन्न भए पनि सिसाक सफ्टवेरमा जोडिन भारी शुल्क लाग्ने महासचिव पाण्डे बताउ“छन् । ‘हाम्रा सदस्यका जति पनि गीत छन्, सर्भर लिएपछि ती सबै गीतको परिचय खुल्ने कोड सिसाकले दिन्छ,’ उनले भने, ‘कोडले सम्बन्धित गीत कहाँ कसरी प्रयोग भइरहेको छ ? भनेर देखाउनुका साथै सर्भरमा रोयल्टीसमेत जम्मा हुन्छ ।’

समाज अध्यक्ष सुरेश अधिकारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली गीतसंगीत व्यापारका लागि पहिचान (म्युजिक कोड) आवश्यक छ । कोड भएपछि बल्ल अन्तर्राष्ट्रिय बजारमा रोयल्टीका लागि वैधानिकता प्राप्त गर्ने उनले जानकारी दिए ।

संगीत रोयल्टी संकलन समाजमा रहेका गीतको अन्तर्राष्ट्रिय कोड ‘केही सस्तोमा प्राप्त भए पनि सिसाक सर्भर’का लागि ५० देखि ६० लाख शुल्क तत्कालै बुझाउनुपर्नेछ । सो रकम स्रष्टाको नाममा संकलित ‘रोयल्टीबाट बुझाउने कि ?’ भनेर छलफल सुरु भएको छ । यसका लागि एकथरी ‘सकारात्मक भए पनि अर्काथरी’ अन्कनाइरहेका छन् ।

फ्रान्समा मुख्य कार्यालय रहेको ‘द इन्टरनेसनल कनफेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) विश्वको गीतसंगीतसम्बन्धी रोयल्टी संकलन गर्ने समाजको छाता संगठन हो ।

सो संस्थाको आफ्नै अन्तर्राष्ट्रिय सेन्टर सर्भर छ । जसमा सिसाक सदस्य प्राप्त गरेर कोड लिएका गीत हुन् । ती गीत ‘कहाँ, कसरी र कति प्रयोग भयो ?’ भनेर जानकारी प्राप्त हुने गर्दछ । सो जानकारीसँगै रोयल्टी संकलनमा समेत सहयोग पुग्ने गरेको छ । यही कारण नेपालले ढिलै भए पनि सिसाक सदस्यता लिएको हो ।

विश्वका ४० लाख अर्थात् ४ मिलियन स्रष्टाको बौद्धिक सम्पत्ति (गीतसंगीत, नाटक, अडियोभिडियो, साहित्य, कला) संरक्षण सिसाकले गरिरहेको छ । सिसाकबाहेक आधिकारिक रूपमा अन्तर्राष्ट्रिय बजारबाट नेपाली गीतसंगीतको रोयल्टी संकलन सम्भव नरहेको समाजको बुझाइ छ ।

अधिकारीका अनुसार विश्वका सबै रोयल्टी समाजले अर्जेन्टिनासँग लिएको सर्भर प्रयोग गरिरहेका छन् । अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा नेपाली गीतसंगीत राखेर उनीहरूले दिएको रोयल्टी थाप्नुपर्ने अवस्था छ । अहिले ‘नेपाली गीतसंगीत कहाँ, कसरी र कति मात्रामा प्रयोग भइरहेका छन् ?’ भनेर सहजै बुझिने अवस्था छैन । राजधानी दैनिकमा डब्बु क्षत्रीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्