०७ साउन २०८३, बिहीबार

मन्त्री कार्कीले जन्मदिनमा गरे श्रमदान

मन्त्री कार्कीले जन्मदिनमा गरे श्रमदान

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जन्मदिनको अवसरमा विराटनगर महानगरपालिका–१२ मा निर्माण भइरहेको एकीकृत बस्तीमा श्रमदान गरेका छन् ।

बस्तीमा १४५ घरधुरी सुकुम्बासीका घरहरू निर्माण भइरहेका छन् । मन्त्री कार्कीसहित उनका परिवारका सदस्यले श्रमदान गरेका हुन् । 

स्थानीयले पनि बस्ती निर्माणका लागि बाँस चिर्ने, जस्ता छाउने, माटो भर्ने काम गरेका छन् । बस्ती निर्माणका लागि सुकुम्बासी परिवारले २० लाख मूल्य बराबरको जनश्रमदान गर्नुपर्ने तर उनीहरूलाई बस्तीका लागि खरिद गरेको जग्गाको ऋण बुझाउन ज्याला मजदुरी पनि गर्नुपर्ने भएकाले आफू लगायतका व्यक्तिले जनश्रमदान गरेको मन्त्री कार्कीले बताए ।

आगामी वैशाखसम्ममा बस्ती निर्माण गरिसक्नुपर्ने उनले बताए ।

विराटनगर महानगरले महानगर आवास परियोजनाअन्तर्गत विराटनगर–१२ मल्हनमास्थित केसलीया खोलाको किनारमा खरिद गरेको जग्गामा १४५ घरधुरी सुकुम्बासीका लागि एकीकृत बस्ती निर्माण भइरहेको छ । 

सुकुम्बासी परिवारले स्थानीय भैरव शर्माको ३ विघा १६ कठ्ठा ५ धुर जग्गा ४ लाख ७५ हजारको दरमा जीवन विकास समाजबाट ऋण लिएर खरिद गरेका हुन् । जग्गामा मन्त्री कार्की, महानगर, ह्याविट्याट फर नेपाल, सहारा नेपाल र दाताको सहयोगमा बस्ती निर्माण भइरहेको जनाइएको छ । 
 

कमेन्ट गर्नुहोस्