
३५ हजार भारतीय रूपैयाँमा महिलालाई भारतमा बिक्री गर्ने एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले ३० वर्षपछि पक्राउ गरेको छ ।
२०४८ मा काठमाडौं नयाँ बजारकी महिलालाई विवाह गर्ने बहानामा काठमाडौं हुँदै भारतको नयाँ दिल्लीमा लगेर बिक्री गर्ने नुवाकोट साविक बागेश्वर गाविस–८ का ५० वर्षीय टेकबहादुर लामिछानेलाई ३० वर्षपछि पक्राउ गरिएको हो ।
उनलाई काठमाडौंको तारकेश्वर–४, लोलाङहाइटबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता शारदाप्रसाद चौधरीले जानकारी दिए ।
ब्युरोका अनुसार लामिछानेले ती महिलालाई २०४९ जेठ २ गते काठमाडौंबाट काँकडभिट्टा हुँदै भारत पुर्याएका थिए । उनले ‘हामी कपडा किन्न जान लागेको भारतबाट कपडा ल्याएर बिक्री गर्दा फाइदा हुन्छ,’ भन्दै भारत पुर्याएर दुई महिलाको जिम्मा लगाएका थिए ।
आफू बिक्री भएको थाहा पाएपछि ती महिलाले ट्याक्सीबाट हाम फालेर प्रहरीको सहयोग नेपाल आएकी थिइन् ।
त्यसपछि उनले २०४९ कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरेकी थिइन् ।
ब्यूरोले लामिछानेलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ बमोजिम कारवाही हुने एसपी चौधरीले बताए ।