
नेकपा माओवादी केन्द्रले प्रदेशबाट आउने केन्द्रीय सदस्यको कोटा निर्धारण गरेको छ ।
२ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रले प्रदेश भित्रबाटै समावेशी ढंगले केन्द्रीय सदस्य चयनको तयारी गरेको हो ।
७ प्रदेशबाट २ सय ४२ जना केन्द्रीय कमिटीमा समेटिने छन् । सम्पर्क कमिटीबाट १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने १५ प्रतिशत अर्थात ४३ जना मनोनयन हुनेछन् ।
प्रदेशमा रहेका प्रतिनिधि सभाका निर्वाचन क्षेत्र र गत निर्वाचनको समानुपातिक मतको रेसियोलाई आधार मानेर सदस्यको लागि कोटा छुट्टयाइएको हो ।
प्रदेश १ बाट ४१ जना, प्रदेश २ बाट २४ जना, बागमती प्रदेशबाट ५२ जना तथा गण्डकीबाट २४ जना केन्द्रीय कमिटीमा समेटिने छन् ।
यस्तै लुम्बिनीबाट ४०, कर्णालीबाट ३१ र सुदुरपश्चिम प्रदेशबाट २९ जना केन्द्रीय कमिटीमा समेटिने भएको छन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको सूची प्रस्ताव गर्ने तयारी गरेका छन् ।
निर्वाचन समितिले सोमवार मतदान गर्नेगरी संशोधित निर्वाचन तालिका प्रकाशित गरेपनि सहमतिमै केन्द्रीय सदस्य चयनको तयारी भइरहेको छ ।
यसअघि मतदानमार्फत केन्द्रीय सदस्य निर्वाचित गर्ने भनिएकोमा निर्वाचन कार्यक्रम स्थगित गरेर बन्दसत्र चलिरहेको हो ।