
घुम्तीमा चालकले गाडी मोड्न नसक्दा बुटवलबाट शव बोकेर रिडी जाँदै गरेको बस आइतवार पाल्पाको रिब्दीकोट गाउँपालिका–२ मा दुर्घटना हुँदा ७ जनाको अकालमै ज्यान गयो ।
बुटवल–१७, रानीगञ्जका ७० वर्षका वीरबहादुर विश्वकर्माको शवलाई दाहसंस्कारका लागि गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल धार्मिक तीर्थस्थल रिडी लैजाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पा–तम्घास सडकखण्डअन्तर्गत पर्ने लघुवाबाट ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा मलामी गएका गाडीमा सवार ३५ जनामध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । १५ जना घाइते छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका–२ का शंकर विक (२५), मोहन कुँवर (३६), भोजेन्द्र विक (२८), अर्जुन विक (३३), रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ का विजय थापा (३२), पशुपति रसाइली (३०), खुमबहादुर थापा (४०) रहेका छन् ।
मृतकमध्ये ४ जनाको शव गाडीले च्यापिएको अवस्थामा थियो । एक्जाभेटरले गाडी हटाएर ती शव निकालिएको थियो ।
पशुपति वीरबहादुरका छोरा हुन् । वीरबहादुको इच्छाअनुसार उनको दाहसंस्कारका लागि बुटवलबाट झण्डै १०० किलोमिटर टाढा रिडीतर्फ गाडी जाँदै थियो । बुबाको चाहना पूरा गर्न जाँदै गरेका उनी अन्ततः आफैँ रहेनन् ।
बुटवलबाट बिहान साढे ७ बजे हिँडेको गाडी पौने ११ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले चालक सकुशल रहेकोले उनलाइ नियन्त्रणमा लिइएको बताए । ‘घुम्ती, चिप्लो र ओरालो सडकमा चालकले मेसो नपाउँदा दुर्घटना भएको देखिन्छ,’ त्वाँतीले भने, ‘पाल्पा–गुल्मी सडक साँघुरो छ । त्यो दुर्घटनाग्रस्त क्षेत्र पनि हो ।’
दुर्घटनामा घाइते हुनेहरूमा बुटवल–१७ का ३८ वर्षका विशाल रसाइली, सैनामैना–६ का ३१ वर्षका मीरा रामदास, सोही ठाउँका श्यामबहादुर विक, बुटवल–१७ का ४५ वर्षका धनबहादुर सुनार, अर्घाखाँची पाणिनी–१ का ५४ वर्षका गोपाल नेपाली, अर्घाखाँची छत्रकोट–३ का ४३ वर्षका लालबहादुर विक, मालारानी–२ का ३७ वर्षका रमेश टोहटो, तिलोत्तमा–१४ का ४५ वर्षकी दिलमाया सुनार, सोही ठाउँकी ४५ वर्षकी तारा सुनार रहेका छन् ।
यस्तै अर्घाखाँची, मालारानी–२ का ३९ वर्षका तुल्सीराम विक, सोही ठाउँका २२ वर्षका दीपक विक, बुटवल–१२ का ४८ वर्षका माधवप्रसाद बस्याल, मालारानी–२ का ४० वर्षका अर्जुन रसाइली, सोही ठाउँकै ३५ वर्षका लक्ष्मण टोहटो, सोही ठाउँका २७ वर्षका विष्णु विक घाइते छन् । उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभास र मिसन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते यात्रु थम्मन पचभैयाले पहाडमा नचलाएको चालकलाई गाडी चलाउन दिँदा दुर्घटना भएको बताए । ‘म गाडीको बीच भागतर्फको सिटमा बसेको थिएँ,’ घाइते पचभैयाले लोकान्तरसँग भने, ‘ठूलो बस, चालकले पहाडमा कहिल्यै चलाएका छैनन् भन्थे । जब बाटो ओरालो आयो चालक ‘होपलेस’ भए । गाडी हेर्दाहेर्दै सडक छाडेर ढल्यो ।’ बसमा यात्रा गरेका घाइते कृष्णबहादुर नेपालीले ओरालो बाटो र शीतले भिजेर चिप्लो र घुम्तीका कारण चालक अलमल पर्दा दुर्घटना भएको हुन सक्ने बताए ।
तर, चालकले पहाडमा चलाएको हो कि होइन भन्ने आफूलाई जानकारी नभएको त्वाँतीको भनाइ छ ।
चालक पाल्पाको रम्भा गाउँपालिका–१ का ५८ वर्षका रुक्मांगत बस्याल प्रहरी नियन्त्रणमा छन् ।
उनी दुर्घटनाको एक घण्टापछि आफैं प्रहरी कार्यालय पुगेका थिए । दुर्घटनापछि अहिले बुटवल–१७ रानीगञ्ज र अर्घाखाँचीको मालारानी शोकमा डुबेको छ ।