३० जेठ २०८३, शनिबार

धान उत्पादन ५ वर्षयताकै कम, कुन प्रदेशमा कति ?

धान उत्पादन ५ वर्षयताकै कम, कुन प्रदेशमा कति ?
प्रतिकात्मक तस्वीर

चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विगत ५ वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । 

मन्त्रालयले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो ।

चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा मन्त्रालयले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तु लगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्‍याउदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका १ लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको ४ लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति उत्पादन ?

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा ४ लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।  

लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशत, १ नम्बर प्रदेशमा ०.९३ प्रतिशत, २ नम्बर प्रदेशमा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रूपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।

चालू आवमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस वर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्