
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षको मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनसम्म १५ लाख मतदातालाई कांग्रेसमा ल्याउने बताएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनबाट १५ लाख मतदाता थप गर्ने संकल्प भएको उनले बताए ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतमलाई नेपाली कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस प्रवेशको राष्ट्रिय अभियान नै शुरू गर्न लागेको बताए ।
‘आजबाट नयाँ राष्ट्रिय अभियान शुरू भयो । सयौं, हजारौं मतदातालाई कांग्रेसमा ल्याउँछौं । अबको ८–१० महिनामा १५ लाखलाई कांग्रेसमा जोड्नुपर्नेछ,’ थापाले भने, ‘कांग्रेस प्रवेश गरेका कसैलाई पश्चाताप गर्न दिइने छैन ।’
जनमतलाई अपमान गरेकाले आगामी निर्वाचनमा एमाले दण्डको भागी रहेको उनले बताए । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आयोजित कार्यक्रममा उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेस प्रवेश गरेकी छन् ।