
राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छान्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा शुरू भएको छ ।
सोमवार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक शुरू भएको केन्द्रीय सदस्य रंगमति शाहीले लोकान्तरलाई जानकारी दिइन् ।
सोमवारको बैठकमा संसदीय बोर्ड गठनको विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् । कांग्रेसमा सांसदको टिकट वितरण संसदीय बोर्डले गर्ने व्यवस्था छ ।
बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् । शनिवार र आइतवार मनोनित भएका रामचन्द्र पौडेल, बिमलेन्द्र निधिलगायत केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छन् ।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलवार उम्मेदवार मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । यसअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि भागबण्डा टुंग्याएको थियो ।
कांग्रेसले ६ सीटका लागि उम्मेदवार तय गर्नेछ ।