०२ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

नारायणहिटीभित्र रेस्टुरेन्ट प्रकरणमा मन्त्री प्रेम आलेको एक्सन, योगेश पनि बोले

नारायणहिटीभित्र रेस्टुरेन्ट प्रकरणमा मन्त्री प्रेम आलेको एक्सन, योगेश पनि बोले

यतिबेला नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको विषय चर्चा र विवादमा छ । रोपनीको ५० हजार रुपैयाँमात्रै भाडा तिर्नेगरी एक व्यवसायिक घरानालाई सरकारले जिम्मा दिएको विषय बाहिर आएपछि आलोचना भएको हो । तत्कालीन पर्यटनमन्त्री योगेश कुमार भट्टराईसमेतको संलग्नतामा पर्यटन मन्त्रालयले निर्णय गरेको दावी गरिएको छ ।

सामाजिक सञ्जालमा यसको चर्को आलोचना भइरहेको बेला पर्यटनमन्त्री प्रेम आलेले एक्सन लिएका छन् । विगतमा विवादै विवादमा फसेका आलेले देउवा नेृतत्वको सरकारमा आएपछि भने केही सुधारका कामहरु थालेको भन्दै प्रशंसाको स्वर समेत सुनिरहँदा मंगलबार नारायणहिटी प्रकरणमा पनि एक्सन लिएका हुन् । नारायणहिटीभित्र रेस्टुरेन्ट बनाउने विषयमा विवाद देखिएकाले तत्काल निर्माण कार्य रोक्न र त्यससम्बन्धी फाइल लिएर आउन सम्बन्धित निकायलाई उनले निर्देशन दिएका छन् ।
मन्त्रीको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न भनेको छ ।  ‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रालिबीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बी म्यानेजमेन्टलाई  दिएको निर्देशन पत्रमा उल्लेख छ ।
००००
यस प्रकरणमा भट्टराईले पनि आफ्नो मुख खोलेका छन् । उनले यो प्रकरणमा निर्णय गर्न आफ्नो कुनै भूमिका नरहेको बताएका छन् । बरु आफू मन्त्री हुनुअघि नै  कफी हाउस बनिसकेको बताएका छन्न्।
‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’ नारायणहिटी प्रकरणसम्बन्धी यो समाचारसहित लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छ । लोकान्तर राउण्डअपमा हामी पछिल्लो २४ घण्टाका प्रमुख समाचारलाई समेट्ने गर्छौँ–
००००
आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलवार प्रदेशअनुसार निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरिएको हो ।
निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
००००
बहुचर्चित सुन तस्करी काण्डमा जोडिएका चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । मंगलवार दुबईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताएका छन् ।
००००
कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज मंगलबार नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१८ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा खोपको अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको पूरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि अतिरिक्त थप एक मात्रा खोप अभियान कार्यक्रम स्थगित गरिएको बताइन् ।
००००
राष्ट्रियसभा बैठक पुस २५ गते आइतवार दिउँसो १ बजे बस्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक बस्ने गरी समय निर्धारण गरेका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।
००००
राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन गरेका छन् ।
लिङ्देनले दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगरलगायतलाई मंगलवार मनोनयन गरेका हुन् ।
००००
पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२९ नमूना परीक्षणमध्ये ३५५ पीसीआर र ३८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
काठमाडौं कारागारमा बसेर लागूऔषधको सञ्जाल चलाउने गरेको खुलेको छ । सो सञ्जालका १७ जनालाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।
सिन्धुली कारागारबाट उपत्यकालगायत देशका विभिन्न ठाउँ लागूऔषध बिक्री वितरण गर्ने मुख्य नाइके भनिएका गुड्डु गुप्ताको सञ्जाललाई ब्यूरोले पक्राउ गरेर नेक्सस तोडेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अंकले उकालो लागेर २ हजार ६७९.९५ मा पुगेको छ ।
००००
नक्कली भ्याट बिल देखाएर १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ बराबरको राजश्व चुहावट गरेको भन्दै शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
ढकालसहित ५ जनाविरुद्ध विभागले मंगलवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
००००
क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलवारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् ।

क्यानले सार्वजनिक गरेको ३० खेलाडीमध्ये मंगलवार कारवाहीमा परेका चार खेलाडीसहित सबैजसो खेलाडी मैदानमा देखा परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्