२८ जेठ २०८३, बिहीबार

त्रिपालले ढाकेको १५ महिनापछि बल्ल चल्ने भयो रेल, देउवाको भारत भ्रमणमा मिति तय हुने

त्रिपालले ढाकेको १५ महिनापछि बल्ल चल्ने भयो रेल, देउवाको भारत भ्रमणमा मिति तय हुने
फाइल फोटो

सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको करीब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो ।

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ ।

सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेको दुईवटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेसनमा त्रिपालले ढाकेर राखिएको छ ।

लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै तीव्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद् गरेको करीब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिइन् ।

प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ ।

यद्यपि, प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति र कार्यक्रम भने सार्वजनिक भइसकेको छैन ।

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. रविन्द्र नाथ श्रेष्ठले पनि जनकपुर–जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिँदै भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताए । उनले रेल सञ्चालनका लागि हाल दैनिक रुपमा ट्रयाक परीक्षण भइरहेको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्