
बिहीवार अमेरिकाको संसद् भवनमा दंगाबाजहरूले आक्रमण गरेको एक वर्ष पुगेको छ ।
तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले निर्वाचनमा उनकै विजय भएको भन्दै जो बाइडनको जीतलाई प्रमाणीकरण गर्ने संसदीय प्रक्रिया रोक्नका लागि संसद् भवनमा आक्रमण गरेका थिए ।
त्यस घटनाले अमेरिकी लोकतन्त्र संकटमा परेको र अमेरिकाको पतनको संकेत गरेको विश्लेषणहरू भएका छन् । अमेरिकामा चरम ध्रुवीकरण भइरहेको पनि उक्त घटनाले देखाएको छ ।
संसद् भवनमाथिको आक्रमणले हिंसालाई पनि जायज ठहर्याउने मतावलम्बीहरूलाई हौसला दिएको थियो । केही दिनअघि द वाशिङटन पोस्ट र मेरिल्यान्ड विश्वविद्यालयले गरेको सर्वेक्षणले खतरनाक परिणाम देखायो । त्यसमा सहभागी ३४ प्रतिशत अमेरिकीहरूले सरकारविरुद्धको हिंसा कहिलेकाहीँ जायज ठहरिने मत राखे । वाशिङटनको आन्तरिक मामिलाका लागि त्यो खतरनाक कुरा हो ।
त्यस्तो विचार राख्नेमध्ये आधा मात्रले पनि हिंस्रक गतिविधि गर्न सक्छन् । संसद् भवनमाथिको आक्रमण त्यसको पूर्वसंकेत हुन सक्छ ।
सन् २०२१ को जुन महिनामा दंगाको तथ्य, परिस्थिति र कारण पत्ता लगाउनका लागि विशेष समिति गठन गरिएको थियो । तर ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि त्यसको निष्कर्ष सार्वजनिक गरिएको छैन ।
अमेरिकामा कठोर विभाजनको स्थिति छ । केही मानिसलाई राजनीतिक ध्रुवीकरण समाधान गर्न नसकिने, नियन्त्रण मात्र गर्न सकिने जस्तो लाग्छ । तर अमेरिकामा नियन्त्रणका लागि प्रभावकारी उपाय समेत छैन ।
राष्ट्रपति जो बाइडनले महामारी नियन्त्रणका लागि संघीय समाधान नरहेको विभिन्न राज्यका गभर्नरहरूलाई बताएका थिए । कोभिडविरुद्धको लडाइँ राज्य सरकारहरू आफैंले लड्नुपर्ने उनले बताए ।
अमेरिकाको संघीय सरकार अस्ताउन लागेको सूर्य जस्तो बूढो देखिन्छ । ऊ निकै थाकेको र लक्ष्य हासिल गर्न असहाय देखिन्छ ।
अमेरिकाले आन्तरिक मामिला र कूटनीति दुवैमा निष्क्रियता देखाउनु डरलाग्दो कुरा हो । एक अमेरिकीका लागि यो निकै निराशाजनक समय हो ।