२९ जेठ २०८३, शुक्रबार

प्रचण्डले बन्द गरे कार्यकर्तासँगको राजनीतिक भेटघाट

प्रचण्डले बन्द गरे कार्यकर्तासँगको राजनीतिक भेटघाट

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तासँगको राजनीतिक भेटघाट बन्द गरेका छन् । प्रचण्डको स्वकीय सचिव गंगा दाहालले फेसबुकमा सूचना जारी गरेर आजैको मितिबाट राजनीतिक भेटघाट बन्द गरेको बताएकी छन् । 

राजनीतिक कामको व्यस्तता, भीडभाड र कोभिड संक्रमणको जोखिम बढेकोले भेटघाट बन्द गरेको उनले बताइन् । 

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं,’ दाहालले सूचनामा उल्लेख गरेकी छन् । 

पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत् व्यवस्थित गर्न कोसिस गर्ने पनि उनले बताएकी छन् ।

‘कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं । केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरूलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भनेकी छन् । 

आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि प्रचण्डलाई बधाई दिने भन्दै उनको निवास खुमलटारमा भीडभाड बढिरहेको थियो । प्रचण्डसँगको भेटमा धेरैले पार्टीको केन्द्रीय सदस्य बनाउन माग गरिरहेका  थिए ।

salt training

कमेन्ट गर्नुहोस्