
ठूला करदाता कार्यालय, ललितपुर र विभिन्न बैंक तथा वित्तीय संस्थाहरु बीच छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीवार भएको छलफलमा आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधाहरूको विषयमा तथा पौष मसान्त भित्र प्रथम किस्ता दाखिला गर्नुपर्ने ४० प्रतिशत आयकर वापतको रकम दाखिला गर्ने विषयमा छलफल भएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छुट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारी बारेमा आ-आफ्नो धारणा राखेका थिए ।
सो धारणाको सम्बन्धमा सम्बन्धित क्षेत्र हेर्ने प्रमुख कर अधिकृतले सो बारेमा कार्यालयको तर्फबाट जवाफ दिएका थिए ।
कार्यक्रममा ठूला करदाता कार्यालयको तर्फबाट प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधाहरु मध्ये विचारधिन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद २०७८ पुसभित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न हुन तथा समयमै आयकरको किस्ता दाखिला गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत, बित्त प्रमुख र प्रतिनिधि एवम् ठूला करदाता कार्यालयका तर्फबाट प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृतहरु तथा कर अधिकृतहरुको सहभागिता रहेको थियो ।