नेपाल र भारतका परराष्ट्रमन्त्री दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सहमत भएका छन् ।
बिहिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री एस. जयशंकर बीच भएको टेलिफोन वार्ता भएको थियो । उक्त संवादमा दुवै परराष्ट्रहरू विगतमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्य उल्लेख गरेको भारतीय विदेश मन्त्री जयशंकरले ट्वीटरमा उल्लेख गरेका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले अंग्रेजी नयाँ वर्षको शुभकामना दिन छिमेकी मुलुकका परराष्ट्रमन्त्रीसँग टेलिफोन संवाद गरिरहेका छन् । सोही सन्दर्भमा उनले नेपालका परराष्ट्रमन्त्री डा. खड्कासँग टेलिफोन संवाद गरेका थिए ।
संवादमा नेपाल र भारतको सहकार्यका विभिन्न तहमा भएको उपलब्धिबारे दुवै मन्त्रीले चर्चा गरेको जयशंकरले ट्वीटरमा उल्लेख गरेका छन् ।