
२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा शुक्रवार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानून बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए ।
‘क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि १ लाख राहत पाउँदै आएका छन्,’ मुख्यमन्त्री राउतले भने, ‘अब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।’
लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला देशकै नमूना हुने विश्वास व्यक्त गरे ।