
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरूबाट निवेदन आह्वान गरेको छ ।
इन्जाले हरेक वर्ष प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) का लागि गत वर्षभरि प्रकाशित/प्रसारित सामग्रीको आधारमा निवेदन दिन आह्वान गरेको हो ।
यसैबीच यसै वर्षबाट इन्जाले ग्लोबल नेपाली सञ्चार प्रतिष्ठानको अवधारणाअनुसार सञ्चारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता वौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको छ ।
'नेपालबाट सन्न ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहाँको उच्चपदस्थ नीति निर्मातासम्म बन्न पुग्नु भएका अर्थ विज्ञ स्व. डा. सुखदेव साहको स्मृतिमा स्थापित यो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पीएचडी सोधपत्र वा सोहीस्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरूलाई सोध वृत्तिको रुपमा दिइनेछ,' विज्ञप्तिमा भनिएको छ ।
यी पुरस्कारको राशि हरेक विधामा एक हजार अमेरिकी डलर छ ।
साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिस्पर्धामा सहभागी हुन वा सिफारिस गर्न इच्छुक पत्रकारहरूले सन् २०२१ भरि प्रकाशित प्रसारित समाचारहरूको लिंक वा भिजुअलप्रती इञ्जाको अफिसियल इमेल [email protected] मा फेब्रुअरी १० सम्ममा पठाइसक्नु पर्ने इन्जाले जनाएको छ ।
यी सबै पुरस्कारहरू आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने अध्यक्ष गुणराज लुइँटेलले जानकारी दिए । इन्जाले विगत तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ ।