२२ जेठ २०८३, शुक्रबार

लिपुलेक सडक स्तरोन्नतिमा परराष्ट्र मौन

पुस २७, २०७८
लिपुलेक सडक स्तरोन्नतिमा परराष्ट्र मौन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच विवादित भूमि लिपुलेकमा सडकस्तरोन्नति भइरहेको घोषणा गरेको १० दिन बितिसक्दा पनि नेपालको परराष्ट्र मन्त्रालयले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

मानसरोवर र कैलाशसम्म भारतीय नागरिकको सहज पहुँच बनाउन भारतले लिपुलेकमा सडकको स्तरोन्नति गरिरहेको हो । सन् २०२२ भित्र सडक पक्की गराउने भारतको उद्देश्य छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा दुई देशबीचको सीमा विवादमा छलफल गर्नुपर्ने आवाजसमेत उठेको थियो । तर, कोरोना संक्रमण बढेसँगै उनको भारतको भाइब्रेन्ट जुगरात समिटमा सहभागिता हुने कार्यक्रम नै स्थगित भयो । जसले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमाको विषयमा वार्ताको सम्भावना ट¥यो ।

७ जनवरीमा नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको थियो । सो टेलिफोन वार्तामा दुई देशबीचको द्विपक्षीय सहयोगका साथै विकास आयोजना कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगतिको विषयमा छलफल भए पनि लिपुलेक सडक विस्तारको विषयमा नेपालले कुरा उठाएन ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले यस विषयमा कूटनीतिक च्यानलबाट कुराकानी हुने बताइन् । उनले सो विषयमा जानकारी लिइरहेको मात्र बताइन् । ‘यस विषयमा हामीले जानकारी लिइरहेका छौं । कूटनीतिक च्यानलबाट कुरा हुन्छ,’ उनले भनिन् ।

सत्तारूढ नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्ताप्रति आपत्ति जनाएको छ । सोमबार विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गर्दै नेपाल सरकारसँगको सहमतिबिना त्यस क्षेत्रमा कुनै गतिविधि गर्न नसक्ने बताएका छन् । सत्तारूढ गठबन्धको एक दल भएकाले एकीकृत समाजवादीको सो विज्ञप्तिलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले ३० डिसेम्बरमा उत्तराखण्डको हल्द्वानीमा एक ¥यालीलाई सम्बोधन गर्दै लिपुलेकमा थप सडक विस्तारको काम भइरहेको जानकारी गराएका थिए । उनले सो क्षेत्रमो १७ हजार ५ सय करोड भारतीय रुपैयाँभन्दा बढीको २३ परियोजनाको उद्घाटन गर्दै लिपुलेकमा सडक बनाएको र त्यसलाई विस्तार गर्ने काम चलिरहेको बताएका थिए । सो क्षेत्र लामो समयदेखि भारतीय सैन्य नियन्त्रणमा छ ।

दुई वर्षअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा धार्चुला–लिपुलेक लिंक रोडको उद्घाटन गरेपछि नेपालमा विरोध भएको थियो । नेपालले राजनीतिक नोट जारी गरेको थियो । जसका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसंशासमेत पाएका थिए । विवाद सतहमा आएपछि भारतले नेपाली भूमिमा आफूले सडक नबनाएको प्रतिक्रिया दिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो अभिव्यक्तिपछि पुनः लिपुलेक चर्चामा तानिएको छ । यसअघि भारतले कालापानीसमेत क्षेत्रको आफ्नो नक्सामा सामिल गरेपछि नेपालले भारतलाई डिप्लोम्याटिक नोट दिएको थियो । तत्कालीन ओली सरकारले लिम्पियाधुरासहित कालापानी क्षेत्रलाई नेपालको नक्सामा राखेर नयाँ नक्सा जारी गरेको थियो । तथापि, नेपालले भारतसँगको सीमा विवादलाई वार्तामार्फत नै हल गर्न चाहेको छ ।

त्यसअघि सन् २०१५ मा पनि भारत र चीनले लिपुलेक पासमा सीमा व्यापार बढाउन नेपाललाई जानकारी नगराई सम्झौता गरेको थियो । सो सहमतिको विरोध गर्दै नेपालले दुवै छिमेकीलाई तत्काल सच्चाउन आग्रह गरेको थियो ।

१८१६ को सुगौली सन्धिका आधारमा लिपुलेकसहित, लिम्पियाधुरा र कालापानी नेपालको हिस्सा भएको नेपालले दाबी गरेको छ । सन् १९५० को सन्धिलगायत नेपाल भारत सम्बन्धका विभिन्न पक्षको समीक्षा गर्न गठित प्रबुद्ध व्यक्ति समूहले सन् २०१८ जुलाईमा प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । सो प्रतिवेदन दुई देशका प्रधानमन्त्रीसमक्ष बुझाउन सकेको छैन ।

यो प्रतिवेदन कार्यान्वयन हुँदा नेपाल–भारतबीचका सीमा विवादलगायतका समस्या हल हुने विश्वास गरिएको छ । नेपाल–भारत सीमा विवादको विषयमा दिल्लीले चासो राख्नुपर्ने देखिन्छ जसले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई मजबुद बनाउनेछ । राजधानी दैनिकमा रामसूदन तिमल्सिनाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्