
शाहवंशीय शासन ढलेसँगै राज्यले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्न आवश्यक ठानेको देखिँदैन । बाइसे र चौबीसे राज्यमा सीमित तत्कालीन राज्यहरूलाई एकीकृत गर्दै उनले विशाल नेपाल निर्माणको थालनी गरेका थिए । उनै पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्न राज्यले कञ्जुस्याइँ गरेको कतिपयको टिप्पणी छ । कतिपयले भने पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भन्न नसकिने तर्क पनि गर्दै आएका छन् ।
वि.सं १७७९ मा गोरखामा जन्मिएका साहले स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी आधुनिक नेपालको निर्माणको थालनी गरेका हुन् । उनको सम्झनामा पुस २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। १८७१ कार्तिक १८ गते सुरु भएको नेपाल–अंग्रेज युद्ध पश्चात सुगौली सन्धि भएर नेपालले केही भूमि गुमाएको थियो । पृथ्वीनारायण शाहले मृत्यु १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भएको थियो ।
उनको मृत्युपछि एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइरहेका थिए। नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही उनको पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा नेपाल–अंग्रेज युद्धपछि भएको थियो। १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो।
००००
मंगलबार परेको पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन र राष्ट्रिय एकता दिवसको रुपमा सरकारी तहबाटै मनाउन राप्रपा, विवेकशील साझालगातका दलले माग गर्दै आएका थिए । त्यसको माग गर्दै राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पनि बुझाएको थियो । तर सरकारी तहबाट त्यसको सुनुवाइ भएन । न त बिदा दिइयो न त औपचारिक रुपमा मनाउने नै निर्णय भयो । राप्रपासहितका राजावादी दलले भने पृथ्वीजयन्ती आफ्नै ढंगले मनाउँदै आएको छ ।
सरकारले पृथ्वीजयन्ती मनाउनुपर्ने पक्षमा काँग्रेसका कतिपय नेता समेत देखिन्छन् । तर सोही पार्टीको सरकारले पृथ्वी जयन्ती मनाउन आवश्यक ठानेन । काँग्रेस नेता अर्जुन नरसिंह केसी भन्छन्, ‘इतिहासबारे प्रश्न उठ्न सक्छ तर बदल्न सकिन्न। मान्छेले आफ्नो पेसा, व्यापार वा स्थान परिवर्तन गर्ला तर बाजे परिवर्तन गर्न सक्तैन। त्यस्तै पृथ्वीको एकीकृत नेपाल निर्माणकार्य भूल्न हुँदैन। पृथ्वीजयन्ती र राष्ट्रिय एकतादिवस राज्यले उपेक्षा गर्नु दुःखद हो।’ पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भने उनको योगदानको चर्चा गर्दै एक वक्तव्य निकालेकी छन् ।
००००
यसैबीच पृथ्वीजयन्तीकै दिन पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारस्थित पृथ्वी नारायणको शालिकमा पुगेर माल्यार्पण गर्दैछन् । पृथ्वीजयन्तीसम्बन्धी यही सामग्रीसहित लोकान्तर डटकमको नियमित प्रस्तुति लोकान्तर राउण्डअपमा स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य समाचारसमेत समेट्ने गर्छौँ–
००००
पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ नमूना परीक्षणमध्ये १३५७ पीसीआर र ८९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६०६ छ । मन्त्रालयका अनुसार थप २५५ जना संक्रमणमुक्त भएका छन् ।
००००
कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको भन्दै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको छ ।
विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई ध्यान दिँदै सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुने गरेर मंगलवारदेखि बिदा दिने निर्णय गरेको मन्त्रालयले सूचना जारी गरेर जनाएको हो । सो अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहका स्वास्थ्यचौकीमार्फत् कोरोना विरुद्धको खोप लगाइने मन्त्रालयको भनाइ छ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको सोमबार पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
००००
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गरेकामा साँझ संक्रमण पुष्टि भएको हो ।
००००
नारायणहिटी संग्रहालय परिसरमा क्याफे सञ्चालन गर्न अघिल्लो सरकारकै पालामा अनुमति दिएको बताइएको छ । सो सम्बन्धमा छानबिन गर्न पर्यटन मन्त्रालयले गठन गरेको समितिले सोमबार प्रतिवेदन बुझाउँदै १४ रोपनी क्षेत्रफलमा भौतिक संरचना निर्माण भएको पाइएको जनाएको छ । समितिको प्रतिवेदनमा विकास समितिका कार्यकारी निर्देशक भेषनारायण यादव र बतास समूहलाई कारवाहीका लागि सिफारिस गरिएको छ ।
००००
अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो ।
नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार यही पुस २३ गतेसम्म निक्षेप रु ५८ अर्बले वृद्धि भएको छ । सात दिनमा रु ५८ अर्बले निक्षेप थपिँदा रु नौ अर्ब मात्रै कर्जा प्रवाह भएको छ ।
००००
सोमवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।यस दिन शेयर बजार मापक नेप्से परिसूचक १९.४३ अंकले बढ्दै २७८४.९५ विन्दुमा पुगेको छ ।