पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न आउँदा सिंहदरबारअगाडि गणतन्त्रको विरोधका चर्को नाराबाजी भएको छ । ३०० औं पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र मंगलवार दिउँसो पोनै १ बजे पुगेका थिए ।
राजतन्त्रका समर्थकहरूले गणतन्त्र खारेजीको नारा लगाएका हुन् । उनीहरूले ‘गणतन्त्र खारेज गर, यो व्यवस्था हामीलाई चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए । ज्ञानेन्द्र शाह आउने बेलामा चन्द्र सूर्य झण्डा बोकेका पूर्वराजाका समर्थकले राजतन्त्र पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए ।
उनीहरूले भ्रष्टाचारको विरोध र संघीयता खारेजीको माग पनि गरेका थिए ।
३०० औं पृथ्वी जयन्तीको अवसरमा आयोजित समारोहमा माल्यार्पण गर्न राष्ट्रपति विद्या भण्डारी मंगलवार बिहान सिंहदरबार गेटमा पुगेकी थिइन् । विभिन्न राजनीतिक दलका नेताहरूले भने शालिकमा माल्यार्पण गरेका थिए ।