१७ असार २०८३, बुधबार

पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना छैन- मोहन वैद्य

पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना छैन- मोहन वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र)लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन् । 

मंगलवार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वमाओवादी घटकहरूबीचमा एकताको सम्भावना नरहेको बताएका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे । 

‘हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्थालाई स्वीकार गर्न सक्दैनौं भनिराखेका छौँ,’ उनले भने, ‘संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरू गइरहनुभएको छ । त्यसकारणले उहाँहरूसँग एकताको सम्भावना छैन ।’

उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाइ छ । 

यस्तै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए । 

‘लिम्पियाधुरा, कालापानी क्षेत्र, लिपुलेकको समस्या जटिल भएर आइराखेको छ । यो सरकारले ओली सरकार जति पनि बोलेन,’ उनले भने, ‘अहिले बारम्बार मोदीले भनिराख्या छन्– यतापट्टि बाटो खन्ने काम जारी छ, विस्तार गर्ने काम जारी छ । सरकार चुप लागेर बसेको छ । राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति सशक्त रुपमा उभिनुपर्ने आवश्यकता छ ।’

salt training

कमेन्ट गर्नुहोस्