०५ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

कोरोना कहर : उपत्यकामा ‘स्मार्ट लकडाउन’ सुरु

कोरोना कहर : उपत्यकामा ‘स्मार्ट लकडाउन’ सुरु

कोरोना संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ सुरु भएको छ । मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउन कार्यविधिअनुसार १८ बुँदे निर्देशन जारी गरेको छ ।  कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई रोक्न स्मार्ट लकडाउन गरिएको हो ।

आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश दिइएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । आदेशअनुसार २५ जना भन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ ।

स्मार्ट लकडाउन वैज्ञानिक लकडाउनको उन्नत मोडालिटी हो । जुन मोडालिटी अनुसार अत्यावश्यक र प्राथमिकताका आधारमा बजार, व्यवसायदेखि सार्वजनिक क्षेत्र यकिन गरिन्छ  र त्यसलाई खोल्ने र आवश्यकताअनुसार बन्द गरिन्छ ।

आर्थिक गतिविधिलाई सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालिटी ‘स्मार्ट लकडाउन’ नीति ल्याइएको हो ।
००००
पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ नमूना परीक्षणमध्ये १९८१ पीसीआर र ४६३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६०७ छ । मन्त्रालयका अनुसार थप ३१३ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ । हाल मुलुकभर ९ हजार ५२२ सक्रिय संक्रमित छन् ।
००००
कोरोना संक्रमण बढ्दै जाँदा भीडभाड पनि रोकिएको छैन । गृह मन्त्रालयले २५ जना भन्दा बढी भेला नहुन नपाइने गरी रोक लगाएको भोलिपल्टै पृथ्वीजयन्तीको अवसरमा सिंहदरबार अगाडि सयौँको उपस्थिति रह्यो । पृथ्वीनारायण शाहको शालिककमा माल्यार्पण गर्न राप्रपा दलबलसहित सयौँको संख्यामा र्यालीसहित त्यहाँ पुगेको थियो भने पूर्वराजा ज्ञानेन्द्र शाहसहितका राजावादी, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत समेत सहभागी हुँदा सो क्षेत्रमा भीडभाड देखिन्थ्यो । यस्तै बजार क्षेत्रमा पनि उस्तै भीडभाड देखिन्छ ।
००००
कैलालीको गेटामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मंगलवार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले जानकारी दिए ।
मन्त्री आले चढेको सुप प्रदेश ०१००१ झ ३३ गाडीलाई विपरित दिशाबाट आएको बा४च १३७७ नम्बरको गाडीले ठक्कर दिएको एसपी अधिकारीले जानकारी दिए। दुर्घटनामा सबै सकुशल छन् ।
००००
नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा रहेका प्रधान सेनापति प्रभुराम शर्मा उपचार पश्चात आज स्वदेश फिर्ता  भएका छन् । उनले मंगलबारबाटै प्रधान सेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाले जनाएको छ । उनी उपचारका लागि भन्दै बिदा स्वीकृत गराएर भारत गएका थिए ।
००००
मंगलवार शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४९.१९ अंकले बढ्दै २८३४.१३ विन्दुमा पुगेको छ ।
००००
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराउँदा उनीमा संक्रमण पुष्टि भएको हो ।  
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार नेपाल होम आइसोलेसनमै छन् ।
००००
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयको विवादमा मुछिएपछि दाहालले राजीनामा दिएका हुन् ।
००००
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्र लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन् ।
मंगलवार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वमाओवादी घटकहरूबीचमा एकताको सम्भावना नरहेको बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्