
गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी रत्न तथा आभूषणको जर्तीसम्बन्धी कार्यविधि परिमार्जन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
सुनचाँदी रत्न तथा आभूषण महासंघसँग सम्बन्धित सरकारी निकायका उच्च पदस्थ अधिकारीहरूसँगको छलफलमा व्यवसायीहरूले कार्यविधिका कारण काम गर्न अप्ठेरो भएको बताएपछि गृहमन्त्री खाणले परिमार्जन गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाणले मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौलालाई कार्यविधि परिमार्जनमा समन्वयकारी भूमिका निभाउन पनि कार्यक्रममै निर्देशन दिए ।
मन्त्री खाणले समय र परिस्थिति अनुसार विभिन्न समयमा बनेका कानून परिमार्जन गर्दै समयसापेक्ष बनाउनु पर्ने बताए ।
उनले सुनका गहना किन्नुलाई अनुत्पादक क्षेत्रमा लगानी लगाउनेका रुपमा लिने कि सम्पत्तिको जगेर्ना गरेको रुपमा लिने भन्नेमा प्रश्न उब्जिने बताए । ‘जुन बेलामा किनेर राखे पनि सुनको मूल्य विपत्तिमा समेत घट्दैन । असहजता भएको बेलामा पनि काम लाग्छ । सुन धितो राखेर अप्ठेरो परेको बेलामा काम गर्न सकिन्छ,’ गृहमन्त्री खाणले भने ।
सुनचाँदी व्यवसायीले उठाएका विषय कानून अनुरुप समाधानका लागि पहल गर्ने उनले बताए ।
कार्यक्रममा सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष मणिकरत्न शाक्य, मणिरत्न शाक्य, रामकुमार विश्वकर्मालगायतका व्यवसायीले आफूहरूले गहना बनाउन पर्याप्त मात्रामा सुनचाँदी नपाएकोले आपूर्ति प्रणालीलाई नियमित बनाउनु पर्ने, सुनचाँदी व्यवसायलाई निर्यातमूलक व्यवसायको रुपमा रुपान्तरण गर्नुपर्ने, थप भन्सारको व्यवस्था गरेर भए पनि पर्याप्त मात्रामा सुन पाइने व्यवस्था गर्नुपर्ने, सुरक्षा निकायले आफूहरूलाई गहना बनाउन एक स्थानबाट अर्को स्थानमा सुन लैजाँदा समस्या पार्ने गरेको भन्दै सहज बनाउने व्यवस्था गर्न माग गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका एआईजीपी रामशरण पौडेल, आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले व्यवसायीहरूले आफूहरूका सम्बन्धमा उठाएका प्रश्नको उत्तर दिएका थिए । उनीहरूले आफूहरूले कानूनअनुरुप हुने काममा व्यवसायीहरूलाई सहजीकरण गर्न आफूहरू तयार रहेको बताए ।