
काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत शेयर चौधरी ग्रूपलाई नबेच्न आदेश दिएको छ ।
एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले शेयर किन्न अप्रिल २०२१ मै स्वीकृति पाइसकेको र करार सम्झौता समेत भइसकेको दाबी गरेका छन् । दुगडसँग करार सम्झौता गरिसकेपछि चौधरीले ग्रूपलाई शेयर बिक्री गर्न गरेको सम्झौताविरुद्ध दुगड १ हप्ताअघि अदालत गएका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले शेयर चौधरीलाई बिक्री गर्ने कार्य नगर्न आदेश दिएको छ । अदालतले शेयर खरिदको विषयमा ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश (एनबी) बैंकलाई लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ ।

दुगडले चौधरी ग्रूपलाई शेयर खरिद गर्न नदिन र आफैैंले खरिद सम्झौता गर्ने भनेपछि २ कर्पोरेट संस्थाबीच टकराव समेत सतहमा देखाएको छ । चौधरी ग्रूप र एमभी दुगड ग्रूपबीच नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको ४१ प्रतिशत शेयर किनबेच विषयमा विवाद सिर्जना भएको हो । यही विवादको टुंगो लगाउन दुगड ग्रूप अदालत पुगेको हो ।
अदालतले यो शेयर खरिदका विषयमा विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु/नगराउनु भन्ने आदेश दिएको छ ।
दुगड ग्रूपले नेपाल बंगलादेश बैंकमा रहेको ३ करोड ६८ लाख २७ हजार ३२६ कित्ता शेयर प्रतिकित्ता १५७ रुपैयाँका दरले खरिद गर्न ३१ मार्च २०२१ मै सम्झौता गरेको दाबी पेश गरेका छन् । आफूहरूले शेयर खरिद सम्झौता गरिसकेपछि चौधरी ग्रूपलाई नै सोही दरमा शेयर बिक्रीको सम्झौता गरिएको उल्लेख छ ।
यद्यपि चौधरी ग्रूपले खरिद सम्झौता गरेको शेयरको मूल्य सार्वजनिक गरेको छैन ।
सनराइज बैंकमा लगानी गरेको एमभी दुगड ग्रूपले आईसीएफआईसीको स्वामित्वमा रहेको शेयर खरिद गरेर एनबी र सनराइजबीच मर्ज गर्ने तयारी गरेको थियो तर शेयर नबिल बैंकका अध्यक्ष विनोद चौधरीले खरिद गरेर नबिलसँग मर्ज गराउन चाहेका छन् ।
आईएफआईसीले असार २९ गते एनबीमा रहेको आफ्नो संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो । आईएफआईसीको सूचनापछि चौधरी ग्रूपले शेयर खरिदका लागि आवेदन दिएको र ३० डिसेम्बर २०२१ मा एनबीमा रहेको शेयर बेच्न खरिदकर्तासँग सम्झौता भएको थियो । चौधरीले पत्नी सारिकाको नाममा शेयर किन्ने सहमति गरेका थिए ।