२१ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

कोरोना संक्रमणले गति लिँदै, एक सातामा ९ प्रतिशतले वृद्धि

कोरोना संक्रमणले गति लिँदै, एक सातामा ९ प्रतिशतले वृद्धि

नेपालमा पछिल्लो साता कोरोना संक्रमण ह्वात्तै बढेको छ । सरकारले राजधानीमा ‘स्मार्ट लकडाउन’ गरेको छ भने संक्रमण फैलिएका अन्य कतिपय जिल्लामा पनि कडाइ थालिएको छ । तर, संक्रमण दिनहुँ फैलिने क्रम जारी छ ।
स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोनाको तेस्रो लहर आएको घोषणा गरेको छैन तर संक्रमण समूदायस्तरसम्मै फैलिसकेको आँकलन गरिएको छ । जनस्वास्थ्यविद्हरुले संक्रमण थप फैलिन सक्ने भन्दै पर्याप्त सावधानी अपनाउन र सरकारलाई पनि प्रभावकारी ढंगले अघि बढ्न सुझाव दिएका छन् । सरकारले चाहिँ लकडाउन नगर्ने नीति अख्तियार गर्दै आएको छ । उसो त कोरोनाको कारण राजनीतिक गतिविधिसमेत ठप्प छ ।
००००
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण दर एक सातामै ९ प्रतिशतले बढेको छ ।मन्त्रालयका अनुसार अघिल्लो साता आरटी–पीसीआर विधिबाट ४९ हजार ८७७ जनाको परीक्षण गरिएकोमा २ हजार ३० जनामा संक्रमण पुष्टि भएको थियो । यो साता परीक्षण दर २५.८ प्रतिशतले बढाउँदै ६२ हजार ७५५ जनाको पीसीआर परीक्षण गरेकोमा ८ हजार ३७३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । परीक्षण दर १३.३ प्रतिशतले बढाउँदा संक्रमण दर अघिल्लो साताको तुलनामा ९.२ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।
००००
पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ नमूना परीक्षणमध्ये २४४८ पीसीआर र ६२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६०९ छ । मन्त्रालयका अनुसार थप २७८ जना संक्रमणमुक्त भएका छन् ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ ।
मन्त्री आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि पत्र लेखी पठाउने निर्णय मङ्गलबार गरेसँगै बुधबार मन्त्रालयले ती दुवै ठाउँमा कारवाहीका लागि पत्र पठाएको हो । दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिनक्याफ्टेरिया सञ्चालनसम्बन्धी अध्ययन तथा छानविन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक दाहाल र बतास समूहको बि म्यानेजेन्टका सञ्चालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि आज पत्र लेखी पठाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए ।
००००
कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ ।
“हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिकल नियामक निकायले भनेको छ ।
००००
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू भएको जनाएको छ ।

मन्त्रालयले हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी तथा अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको छ ।
००००
काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत शेयर चौधरी ग्रूपलाई नबेच्न आदेश दिएको छ ।
एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले शेयर किन्न अप्रिल २०२१ मै स्वीकृति पाइसकेको र करार सम्झौता समेत भइसकेको दाबी गरेका छन् । दुगडसँग करार सम्झौता गरिसकेपछि चौधरीले ग्रूपलाई शेयर बिक्री गर्न गरेको सम्झौताविरुद्ध दुगड १ हप्ताअघि अदालत गएका थिए ।
००००
निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग पुस ३० गते शुक्रवार परामर्श गर्ने भएको छ ।
आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।
००००
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले बुधवार विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।
००००
आठ जनाको हत्या गरेको अभियोग लागेका नसिम खान उर्फ ‘बादशाह’लाई जिल्ला अदालत कपिलवस्तुले सफाइ दिएको छ ।
जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो ।
००००
नेपालको आर्थिक बृद्धिदर चालू आर्थिक वर्ष २०७८–७९ मा ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
सरकारले चालू आर्थिक वर्षमा यस्तो बृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिएको भएपनि विश्व बैंकले भने सरकारले लिएको लक्ष्य भन्दा निकै कम आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्