
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिटेन्स आय ६.८ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले विहीबार जारी गरेको चालू आर्थिक वर्षको ५ महिनाको तथ्यांक अनुसार रेमिटेन्स आय नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको देखिएको छ ।
मंसिरसम्मा नेपालमा तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ
यस्तो रेमिटेन्स आय गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भने ११ प्रतिशतले बढेको थियो । यस्तो रेमिटेन्स आय अमेरिकी डलरमा ७.३ घटेर जम्मा ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिटेन्स यस्तो आय ६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ०८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भएर ९९ हजरा ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।