नेपालकै ताजमहलका रूपमा चिनिएको पाल्पाको रानीमहल दरबार संग्रहालयका रूपमा विकसित गरिएको छ ।
खड्ग शम्शेरले निर्माण गरेका दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्री राखिएको छ ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरा लगायतका सामग्रीको व्यवस्थापन भएको बताए ।
१५ लाख रुपैयाँबाट थालनी भएको काम हाल करीब ३५ देखि ४० लाख खर्च भइसकेको बताउँदै नगर प्रमुख शाहीले सो रकमले नपुग्ने हँुदा बजेट बढाउँदै जाने बताए । उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताए ।
नगरपालिकाका अधिकृत शंकर भण्डारीले करीब २ महिनाको निरन्तर मेहनतले दरबारलाई संग्रहालयको रूपमा विकास गर्न सकिएको बताए । उनले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई संग्रहालयमा राखिएको बताए ।
विक्रम संवत् १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । विक्रम संवत् १९५० सालमा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ ।
विक्रम संवत् १९६० सालमा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए । चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ ।
तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।
धार्मिक र पर्यटकीय रूपले अतिमहत्त्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ ।