०३ असार २०८३, बुधबार

स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दै, सेवा नै प्रभावित

माघ ३, २०७८
स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दै, सेवा नै प्रभावित

पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।

उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । हालसम्म देशभर १ सय ३० बढी चिकित्सक र २ सयभन्दा बढी नर्सहरू संक्रमित भइसकेका छन् ।

स्वास्थ्यकर्मी र नर्सलाई जगेडामा नराखे एक-दुई सातामै भयावह अवस्था आउने सक्ने

अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक्ने देखिएको कोभिड–१९ विज्ञ तथा भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले बताए । उनका अनुसार अब सरकारले अस्पतालमा चिकित्सक र नर्सलाई सिफ्टअनुसार काम लगाउनुपर्ने बताए । ‘चिकित्सक र नर्सलाई जगेडामा राखेर पनि काम गर्नुपर्नेहुन्छ, डा. आचार्यले भने, अस्पतालका सबै चिकित्सकको पीसीआर टेस्ट गरिनुपर्छ ।’

अहिलेको यथास्थितिमा संक्रमण बढे अबको एक÷दुई हप्तामा अस्पतालमा उपचार गराउने चिकित्सक अभाव हुन सक्ने स्थिति आउने डा. आचार्यको भनाइ छ । हाल वीर अस्पतालमा १४ डाक्टरसहित ४८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालको ल्याब टेक्निसियन संक्रमित भएपछि ल्याबको काम प्रभावित बनेको छ । यस्तै, ललितपुरमा रहेको पाटन अस्पतालमा ३० जना नर्स र २० डाक्टर होम आइसोलेसनमा छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पनि तीन डाक्टरसहित १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै, स्त्री तथा प्रसूति रोग केन्द्र थापाथलीमा २८ जना चिकित्सक २० जना नर्ससहित ६३ जना संक्रमित भएका छन् । सो अस्पतालमा प्रसूतिसम्बन्धी काम प्रभावित भएको छ । त्यस्तै, मनमोहन कार्डडियोलोजीमा सात जना चिकित्सकसहित ३५ जना संक्रमित छन् ।

यस्तै, कान्ति बाल अस्पतालमा १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा एक दर्जन बढी स्वास्थ्यकर्मी र पाँच जना ल्याब टेक्निसियन संक्रमित भएका छन् । नेपाल प्रहरी अस्पतालमा दुई जना चिकित्सक र १२ जना नर्स संक्रमित भएका छन् । संक्रमण हुने दर दैनिक बढ्दो क्रममा रहेको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा धेरै संक्रमित भए पनि स्वास्थ्यकर्मी संक्रमित भएर सेवा प्रवाहमा समस्या आएको थिएन । तर, हाल कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएसँगै दैनिक संक्रमण हुने दर ५ हजारको हाराहारीमा पुगेको छ भने फ्रन्ट लाइनरमा काम गर्ने चिकित्सक र नर्स आफैं संक्रमित भएका छन् । दोस्रो लहरको जस्तो संक्रमण दर जटिल अवस्थामा पुगे अस्पतालमा चिकित्सक र नर्सको अभाव भई सेवाप्रवाहमा समस्या आउन सक्ने विज्ञको भनाइ छ । निराजन पौडेलले राजधानी दैनिकमा खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्