
लुम्बिनी प्रदेशमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारले जीत निश्चित भएको दाबी गरेका छन् ।
५ दलीय गठबन्धनका उम्मेदवारले सोमवार बुटवलमा पत्रकार सम्मेलन गरी आफूहरूको जीत निश्चित भएको दाबी गरेका छन् ।
लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थिरताका लागि कानूनी र संवैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारले अंकगणितका हिसाबले पनि सहजै जीत निकाल्ने बताएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले बाँकेबाट नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा ‘राजेश’लाई चुनावी मैदानमा उतारेको छ ।
कांग्रेसबाट उम्मेदवार भएका शर्माले बीपीबाट प्रभावित भएर २०३० सालमा कांग्रेस बाँकेको सचिव भएर राजनीति शुरू गरेको बताए । पाल्पाकी राजेन्द्रलक्ष्मी गैरैले २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूल्यांकन गरेको बताइन् ।
अर्का उम्मेदवार राष्ट्रिय जनमोर्चाका तुलबहादुर विश्वकर्माले आफूले राजनीतिमार्फत समाजमा रहेका विभेद अन्त्य र सामाजिक न्याय स्थापित गर्न लागिपरेको बताउँदै आफ्नो उम्मेदवारी त्यसैका लागि भएको बताए । तीनै जना उम्मेदवारले गठबन्धनका सबै दलबाट मत पाउने आशा राखे ।
नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आफूहरूसँग १ हजारभन्दा बढी मतान्तर रहेकाले सजिलै जित्ने बताए । उनले १ हजार ५०० मतान्तरले जित्ने दाबी गरे । उनले एमालेको भोट समेत आफूहरूले तान्ने दाबी गरे ।
गठबन्धनद्वारा जिल्ला भ्रमण
५ दलीय गठबन्धनका उम्मेदवारले चुनावी प्रचार र भेटघाट शुरू गरेका छन् । बुटवलमा पत्रकार सम्मेलन गरेर गठबन्धनका उम्मेदवारले जिल्ला भ्रमण र भेटघाटको कार्यक्रम समेत सार्वजनिक गरेको छ । सोमवार बुुटवलमा पत्रकार सम्मेलन गरेर टोली पाल्पा गएको छ ।
मंगलवार गुुल्मीको तम्घास, अर्घाखाँचीमा भेटघाट गर्ने कार्यतालिका गठबन्धनले बनाएको छ । माघ ५ गते रोल्पा, ६ गते दाङको घोराही, ६ र ७ गते बर्दिया, ७ गते बाँके, ७ गते नै दाङको भालुवाङ, ८ गते कपिलवस्तुको चन्द्रौटा, रुपन्देहीको बुटवल र ९ गते नवलपरासीमा भेटघाट तथा चुनावी प्रचार कार्यक्रम राखिएको गठबन्धनले जनाएको छ ।