
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक मंगलबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार बालुवाटारमै छलफल भएपछि मंगलबार पुनः गठबन्धनको बैठक बोलाइएको हो ।
आगामी वैशाखमा चुनाव गर्नुपर्ने भएपछि गठबन्धन छलफलमा जुटेको हो । गठबन्धनभित्र वैशाखमा चुनाव गर्नेबारे एकमत नरहेको बताइएको बेला मंगलबार बैठक बोलाइएको हो ।
बैठकमा स्थानीय चुनावबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने एक नेताले बताए ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अनुरोध गरेपनि सरकारले ढिलाइ गर्दै आएको छ भने प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।