स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सरकार सञ्चालनमा सहजीकरण गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान शुरू बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन् ।
संविधानमा भएको व्यवस्थाअनुसार आगामी वर्षको वैशाख महिनामा स्थानीय तहको चुनाव गर्नका लागि माघ पहिलो साताभित्र निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले आग्रह गरेको थियो । निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि चुनावको मिति प्रस्ताव गर्दै मिति घोषणा गर्न सर्वदलीय बैठक राखेर आग्रह गरेको थियो ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार भएको छलफलमा संविधानको व्यवस्थाअनुसार नै तीनवटै तहको चुनाव गर्ने सहमति भएको थियो । प्रतिपक्षी दल नेकपा एमालेले भने सत्ता गठबन्धनले स्थानीय तहको चुनाव नगर्ने षड्यन्त्र गरेको आरोप लगाएको छ ।