२१ जेठ २०८३, बिहीबार
निर्माणमा विलम्ब

तामझामसहित देशैभर शिलान्यास गरिएका आधारभूत अस्पताल निर्माण कछुवा गतिमा

माघ ४, २०७८
तामझामसहित देशैभर शिलान्यास गरिएका आधारभूत अस्पताल निर्माण कछुवा गतिमा

२०७७ मंसिर १५ गते सरकारले देशैभर एकैपटक ३९९ वटा आधारभूत अस्पताल भवनको तामझामका साथ शिलान्यास गर्‍यो । तत्कालीन सरकारले यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति पनि भन्यो ।

कोरोनाको महामारी चलिरहँदा सरकाले एकैपटक यत्रो मात्रामा अस्पतालको शिलान्यास गर्दा जनतामा पनि खुशीयाली छाएको थियो तर शिलान्यास भएका आधारभूत अस्पतालको काम धेरै स्थानीय तहमा १ वर्षसम्म पनि शुरू नै हुन सकेको छैन ।

कतै टेन्डर आह्वान भएका छन् भने कतै निर्माणका काम अगाडि बढेका छन् । कोरोनाको गति हात्ती लम्केझैं लम्किरहेको छ भने अस्पतालको निर्माण कार्य कछुवाको गतिमा छ ।

सरकारले समयमै बजेट नपठाइदिएका कारण निर्माण कार्य समयमै शुरू गर्न नसकिएको ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले बताए । वैशाखमा ठेक्का सम्झौता गरेर असोजदेखि निर्माण कार्य शुरू गरिएको उनले बताए ।

शिलान्यास गरिएका कतिपय आधारभूत अस्पताल भवनको निर्माण कार्य शिलान्यासमै सीमित बनेको छ । इलामको सन्दकपुर गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउनका लागि शिलान्यास गरेको वर्ष दिन हुँदा समेत निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

पहाडको ठाउँ भर्खरै जग्गा मिलाउने काम सकिएको गाउँपालिकाका अध्यक्ष इन्द्र राईले बताए । तराई, पहाडी तथा हिमाली जिल्लामा एउटै मापदण्ड भएका कारणले समेत निर्माण कार्य ढिला भएको उनी बताउँछन् । स्टिमेट तथा नक्सा समेत एउटै भएकाले पहाडी र हिमाली जिल्लामा भूगोल मिल्दो जग्गा भेट्टाउन नै समस्या हुने गरेको राईले बताए ।

काठमाडौंमा बस्नेले सबै काठमाडौं जस्तै देखेर लागत तथा स्टिमेट गर्ने गरेकाले विकट क्षेत्रको विकास हुन नसकेको उनले बताए । उनका अनुसार इलामका अन्य पालिकाले टेन्डर आह्वानको मात्रै सूचना निकालेका छन् ।

तेह्रथुमको मोराहाङ गाउँपालिकाका अध्यक्ष यादवराज खापुङ भन्छन्, ‘ठेकेदारले निर्माण सामग्री ल्याउन थालेको छ, अब बन्छ भन्ने विश्वास लागेको छ ।’

तेह्रथुमकै आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु भन्छन्, ‘संघीय सरकारले पहिला ललिपप देखायो, भरे लौरा लिएर अकबरे खोर्सानी खाँ भन्यो । समयमा रकम निकासा नगरिदिने र भूगोलका आधारमा नभई मन्त्री र कर्मचारीले गरेको डिजाइनले समेत समस्या बनायो ।’ 

संघमा बस्नेहरूले संघीयताको अभ्यास नगरेको समेत उनले आरोप लगाए ।  

विपद्को समयमा आधारभूत स्वास्थ्य सेवा गाउँगाउँमा पुर्‍याउने लक्ष्यसहित सरकारले स्वास्थ्य उपकरण र जनशक्ति सहितका आधारभूत अस्पताल सबै स्थानीय तहमा बनाउने घोषणा गरेको थियो तर कोरोनाको तेस्रो लहर फैलिँदै गर्दा पनि गाउँमै आधारभूत उपचार पाउनबाट जनता पुनः वञ्चित हुनुपरेको छ । 

पहाडी तथा हिमाली जिल्लामा भौगोलिक विकटताका कारणले भवन बनेका छैनन् भने तराईका जिल्लामा केही प्रगति देखिएको छ । मोरङको बेलबारी नगरपालिकामा बनिरहेको १५ शय्याको अस्पताल भवनको काममा केही प्रगति देखिन्छ भने तराईकै अन्य पालिकामा कतै भर्खर मात्रै शिलान्यास गरिएको छ । बेलबारीले जगको काम सकेको छ ।

मोरङको लेटाङ नगरपालिकाले केही दिनअघि मात्रै शिलान्यास गरेको छ । जग्गा नभेटिएको भन्दै लेटाङले अस्पताल भवनको शिलान्यास गरेको छैन । आधारभूत अस्पतालहरूमध्ये सबैभन्दा धेरै १ नम्बर प्रदेशमा ८६ वटा रहेका छन् ।

तेस्रो लहरसँग जुध्ने तयारीमा सरकार जुटे पनि अहिलेकै अस्पतालले कोरोना संक्रमितको चाप धान्न सक्ने अवस्था छैन ।  आधारभूत अस्पताल निर्माण गर्न सुनसरीका ५, मोरङका ७, झापाका १०, उदयपुरका ३, ओखलढुंगाका ७, सोलुखुम्बुका ५, खोटाङका ६, भोजपुरका ६, धनकुटाका ४ र तेह्रथुमका ५ संखुवासभाका ७, इलामका ७, पाँचथरका ६ र ताप्लेजुङका ६ वटा अस्पताल छानिएका थिए । 

स्थानीय तहका अस्पतालमध्ये ५ शय्याका २७ वटा, १० शय्याका १४ वटा र १५ शय्याका ४५ वटा अस्पताल बनाउने घोषणा गरिएको थियो । २ वर्षभित्रमा बनाइसक्ने लक्ष्यसहित सरकारले हतारहतार अस्पतालको शिलान्यास गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्