
विशेष अदालत काठमाडाैंले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेकका सेवाहरू स्थगित गरेको छ ।
बुधवारको पूर्ण बैठकले बिहीवारदेखि लागू हुने गरेर स्थगित हुने र सुचारु हुने सेवाहरूबारे निर्णय गरेको हो ।
स्थगन भएका सेवामा थुनुवा भएका मुद्दाबाहेकका अन्य मुद्दाको साप्ताहिक तथा दैनिक पेशी र सुनुवाइ, पेशी एवं साधारण तारेख, साक्षीको बकपत्र, हाजिर हुन आउने एवं वारेस अनुमतिलगायतका निवेदन पेशी, धरौटी फिर्ता र रोक्का फुकुवासम्बन्धी सेवाहरू, फैसला/आदेश/कागजातहरूको प्रमाणित प्रतिलिपिसम्बन्धी सेवाहरूसमेत छन् ।
त्यस्तै सुचारु हुने सेवामा भने थुनुवा भएका मुद्दाहरूको सुनुवाइ (भर्चुअल माध्यमबाट), आरोपपत्र/अभियोगपत्र दर्ता र सो पत्रसहित उपस्थिति गराइएका अभियुक्तको थुनछेक र म्याद थप (भर्चुअल माध्यमबाट) रहेका छन् ।
यस्तै स्थगन अवधिका मुद्दा तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने पनि अदालतले जनाएको छ ।
अदालतको पूर्ण बैठकले माघ १८ गतेसम्मका लागि यस्तो निर्णय गरेको हो ।
