
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका अधिकांश सडक स्तरोन्नति र विस्तार हुँदैछन् ।
मुलुककै धेरै जनसंख्या रहेको बुटवल–११ का सडकलाई विस्तार तथा स्तरोन्नति गर्ने काम अगाडि बढेको छ । उक्त वडाका बेलबास, बुद्धनगर, मिलनचौक–चौपारी, देवी पथ, रङ्गशाला पथ र शान्ति पथलाई स्तरोन्नति र विस्तार गर्ने काम शुरू भएको छ ।
तीमध्येका प्रमुख बाइपास सडक देवी पथ र रंगशाला मार्ग विस्तार एवम् स्तरोन्नति कार्यको शुक्रवार नगर प्रमुख शिवराज सुवेदीले शिलान्यास गरे । करीब १० करोड लगानीमा यी दुई बाइपास सडकको स्तरोन्नति गरिँदैछ ।
रंगशाला मार्गमा नाली, फुटपाथ, हरियाली क्षेत्र सडक बन्नेछ । यसका लागि कुल बजेट ९ करोड ६१ लाख ५१ हजार ९२४ रूपैयाँ लागत अनुमान गरिएकोमा निर्माण कम्पनी रायमाझी प्रदीप जेभी बुटवलले ६ करोड ७० लाख १४ हजार ६१० मा ठेक्का सम्झौता गरी काम शुरू गरेको छ ।
संघीय सरकार, मातहतका निकाय, प्रदेश सरकार र मातहतका कार्यालयले बुटवलको सडक सञ्जाल विस्तार र स्तरोन्नतिमा सहकार्य गरेका छन् । पूर्वउपप्रधान तथा अर्थमन्त्री नेता विष्णु पौडेलको अगुवाइमा बुटवलसहित यहाँका अधिकांश पालिकामा विकास निर्माणका काम तीव्र भइरहेका छन् ।
बुटवलको मुख्य भागबाट गएको राजमार्गको चौराहा–गोलपार्क खण्डको काम पनि ठेकेदारले ढिलो गरी अहिले अगाडि बढाइएको छ ।