०३ असार २०८३, बुधबार
कला

छ्वालीमा 'जीवन भर्ने' चार्ली

माघ ९, २०७८
छ्वालीमा 'जीवन भर्ने' चार्ली

भक्तपुरको सूर्यविनायक बस्ने २३ वर्षीय रोशन बानियाँ (चार्ली) गहुँको छ्वालीबाट आकर्षक चित्र बनाउँछन् ।

सानैदेखि विभिन्न चित्र कोर्ने गरेका चार्लीले गहुँको छ्वालीबाट चित्र बनाउन थालेको झण्डै ४ वर्ष हुन लाग्यो ।

‘सबैले मेरो कलालाई एकदम धेरै माया गरिदिनुभएको छ, यही नै मेरा लागि सबैभन्दा ठूलो कुरा हो’, लोकान्तरसँग चार्लीले भने ।

आफ्नो एक साथी र विभिन्न अनलाइन माध्यमबाट यो कला सिकेका उनले कुनैदिन चित्र बेचेरै कमाउँछु भनेर सोचेका रहेनछन् ।

कम खर्च, बढी मेहनत लाग्ने यो चित्रकारितामा गहुँको छ्वाली, ब्लेड, गम, कागजजस्ता वस्तुहरूको प्रयोग हुने गर्छ ।

आमाबुवा, दाजु, आफु र भाइ गरी उनको ५ जनाको परिवार छ ।

बुवा औषधि उद्योगमा काम गर्छन् भने आमा उनलाई नै सहयोग गर्छिन् ।

१२ कक्षाको पढाइपछि उनी आईटीअन्तर्गत इथिकल ह्याकिङको स्नातक (डिप्लोमा) तहमा भर्ना भएका थिए ।

व्यक्तिगत र देशव्यापी लकडाउनका कारण पढाइलाई निरन्तरता दिन नपाएका चार्ली पढ्ने इच्छा भने अझै रहेको बताउँछन् ।

शुरूआत र निरन्तरता

एकदिन आफ्नो साथीले यस्तो चित्र बनाउँदै गरेको देखेपछि चार्लीलाई पनि सिक्ने इच्छा जाग्यो ।

विभिन्न अनलाइन मिडियामा खोजी गरेर उनले पनि यो कला सिक्न थाले । शुरूका दिनमा उनी विभिन्न चराका चित्र बनाउने गर्थे । विस्तारै उनले मान्छेको पनि चित्र बनाउन सकिन्छ कि भनेर प्रयास गर्न थाले । 

पहिलो चित्र ‘मिस नेपाल २०१८’ श्रृंखला खतिवडाको बनाएको उनी बताउँछन् ।

त्यस चित्रबाट अत्यन्तै राम्रो प्रतिक्रिया पाएपछि उनलाई अझै अगाडि बढ्न हौसला मिल्यो ।

देशमा विभिन्न सामाजिक योगदान दिइरहेका व्यक्तिको चित्र बनाउँदा उनलाई गौरव महशुस हुने रहेछ ।

पहिलोपल्ट ‘ह्याकर मास्क’को चित्र ७५० रुपैयाँमा बेचेका उनले आफ्नो कलालाई व्यावसायिकता दिन थाले ।

‘अहिले एक महिनामा औसत १० देखि १२ वटासम्म अर्डर आउछ । आफ्नो व्यक्तिगत खर्च सँगै अहिले पारिवारिक खर्चमा पनि मद्दत गर्छु,’ चार्लीले भने ।

यी चित्रहरूको न्यूनतन मूल्य उनले ३००० रुपैयाँ राखेका छन् ।

चित्र बनाउन लाग्ने समय र चित्रको कम्प्लेक्सिटी (जटिलता) का आधारमा मूल्य बढ्दै जाने उनले बताए ।

अहिलेसम्म २ सयभन्दा बढी चित्र बनाइसकेका उनी सबैबाट आफू र आफ्नो कलाले पाएको मायाबाट अत्यन्तै प्रेरित भएको पनि बताउँछन् ।

कसरी बन्छ त एउटा पूर्ण तस्वीर ?

चार्लीका अनुसार पहिला गहुँको छ्वाली ल्याएर त्यसलाई राम्रोसँग धोइन्छ । 

एक साधारण बोरामा जम्मा १५% प्रयोगयोग्य छ्वाली हुन्छ । सुकिसकेको छ्वाली काटेर त्यसलाई स–साना ‘सुइरो’मा ढालिन्छ । त्यसपछि सुइरोहरूलाई बीचबाट चिरेर आइरनको सहायताले सिधा बनाइन्छ ।

यदि कुनै ठाउँमा गाढा रंग चाहिने छ भने उनले छ्वालीलाई आइरनको सहायताले डढाएर प्रयोग गर्छन् ।

एउटा कडा कागजमा खेस्रा कोरेर पहिला काटेको छ्वालीलाई गमको सहायताले त्यसमा टाँसिन्छ ।

विस्तारै सबै टाँसिसकेपछि एउटा पूर्ण चित्र तयार हुन्छ ।

यो सबै प्रक्रिया एकदमै ध्यान केन्द्रित गरेर पूरा गर्नुपर्ने उनले बताए ।

तीता-मीठा अनुभव

कहिल्यै आफू कलाबाट चिनिन्छु र यसलाई व्यावसायिक बाटोमा अघि बढाउँछु भन्ने नसोचेका उनी अहिले यसलाई आफ्नो जीवनवृति बनाउन सकिन्छ भन्नेमा पुगिसकेका छन् ।

‘अहिले देशबाट मात्र नभएर विदेशबाट पनि अर्डरहरू आउँछन् । उहाँहरूले काम मन पराइदिएर अझै अरू पनि काम ल्याइदिन्छु भन्ने र ल्याइदिने पनि गर्नुभएको छ । यसैबाट अझै राम्रो गर्नु पर्छ भन्ने हिम्मत मिल्छ’ चार्लीले लोकान्तरसँगको संवादमा भने ।

अस्ति मात्र एकजनाले आफ्ना स्वर्गीय बुवाको चित्र बनाइदिन भने ।

‘चित्र पाएपछि उहाँले आफ्नो बुवा नै यहीँ हुनुहुन्छ जस्तो लाग्यो भनेर भन्दा मलाई एकदमै खुशी लाग्यो,’ उनले सुनाए ।

राम्रा मात्र नभएर केही नमीठा अनुभव पनि उनीसँग छन् ।

‘कतिपय ग्राहक अर्डर गरेर चित्र बनाइसकेपछि सम्पर्कमा आइदिनुहुन्‍न । त्यस्ता चित्रहरू फेरि अरूलाई बेच्न पनि मिल्दैन’, उनी भन्छन् ।

यस्तै तीता र मीठा अनुभव समेटेर अघि बढेका चार्ली निरन्तर प्रयासले हरेक चुनौती पार गर्न सकिने बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्