१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

काठमाडौं उपत्यकामा जोरबिजोर लागू, यातायात व्यवसायी असन्तुष्ट

काठमाडौं उपत्यकामा जोरबिजोर लागू, यातायात व्यवसायी असन्तुष्ट

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो । जसअनसार शनिबार जोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न पाइन्छ । उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले यो निर्णय गरेको थियो । तर, यातायातमा जोरबिजोर गर्दा झन् भिडभाड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने कतिपयको भनाइ छ ।
००००
यातायात व्यवसायीहरुले सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

 छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायी जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् । यद्यपी सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । जोरबिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनले बताए ।
००००
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए ।  सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनले बताए ।
००००
सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेको बताए । उनले  आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताए ।
००००
पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ नमूना परीक्षणमध्ये ८८१५ पीसीआर र १८८८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६३५ छ ।
लोकान्तर राउण्ड अपमा अब बितेका २४ घण्टाका बाँकी समाचार संक्षेपः
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रवार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री देउवाले संसदमा भएका सबै राजनीतिक दलहरुसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निस्कर्षमा पु¥याइने पनि स्पष्ट पारे ।
००००
सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमती गरेको हो ।
स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निक्र्यौंल गरेर अघि बढन निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढने सहमती गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै शनिबार देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
००००
नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगन भएको छ ।
माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो । नयाँ पछि अवस्था सामान्य भएपछि घोषणा हुनेछ ।
००००
गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरू र मलेसिया जान रोक लगाएको छ ।मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसामा खाडी जान रोक लगाएको जनाएका छन् ।
००००
शनिवार बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अर्को निर्णय नहुँदासम्म बैठक स्थगन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
००००
महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गरेर बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई काठमाडौं ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त गुणस्तरहीन ६०० केजी र ६ हजार ५०० केजी कच्चा पदार्थ र नक्कली मह बरामद गरेको छ ।
००००
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले आज काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो । अन्य विद्यार्थी संगठनले पनि मूल्यवृद्धिको विरोध गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्