१३ असार २०८३, शनिबार
उद्यम

विदेशको मासिक ६ लाख तलब छाडेर स्वदेशमै उद्यम, वार्षिक ३० करोड बढीको कारोबार

माघ ८, २०७८
विदेशको मासिक ६ लाख तलब छाडेर स्वदेशमै उद्यम, वार्षिक ३० करोड बढीको कारोबार

मोरङको बेलबारीका सन्तोष प्रसाई पढाइ सकेर जागिरको खोजीमा लागेका थिए । धरानको इन्जिनीयरिङ कलेजबाट मेकानिकल इन्जिनीयरिङ गरेका  प्रसाई आफ्नो पढाइसँग सुहाउँदो जागिरको खोजीमा थिए ।

तर उनले पढाइसँग मिल्दोजुल्दो जागिर पाउन त्यतिबेला निकै मेहनत गर्नुपर्‍यो । एक दिन केही साथीसँगै उनी चिया पसलमा गए । चिया पसलमा पत्रिका पढ्दा दुबईमा सिएसी मशिन टेक्निसियनका लागि १ जना कर्मचारी आवश्यकता भनेर लेखिएको देखे । त्यही सूचनाअनुसार उनी १८ वर्षअघि दुबई गए । 

दुबई पुगेपछि उनलाई लेबर काम गर्न भनियो । ‘फ्री भिसा फ्री टिकट’मा गएका उनले लेबरमा काम गर्न मानेनन् । १ हप्तासम्म मालिकले लेबरमा काम गर्न भनेर दबाब दिए पनि आफूले नमानेको उनले बताए ।

‘हप्ता दिनपछि मालिकले आफैं आएर के काम गर्छस् भनेर भन्यो,’ उनले भने, ‘मलाई जे कामका लागि ल्याएको हो, त्यही काममा लगा, नत्र नेपाल फिर्ता गरिदे भनेर भने ।’ दुबई जाँदा १ रुपैयाँ पनि आफ्नो खर्च नभएकाले लेबरको काम नगरेको उनले बताए ।
 
म्यानपावर कम्पनीको बेइमानीका कारण धेरै नेपालीले दुःख भोग्नु पर्दाे रहेछ भन्ने थाहा पाएको उनले बताए । ‘एकै प्रकृतिका कामदार लैजान नपाइँदो रहेछ,’ उनले भने, ‘त्यही भएर विभिन्न आश्वासन दिएर कामदार लगिँदो रहेछ ।’

लेबर काम नगरेपछि मालिकले उनलाई अफिसको काममा खटाए । उनले पाइप (फाइबर ग्लास) बनाउने बहुराष्ट्रिय कम्पनीको अफिसमा काम गर्ने मौका पाए । उनका लागि त्यो नयाँ काम थियो ।

उनलाई शुरूमा १२ हजार रुपैयाँ तलब दिइएको थियो । ‘हप्तामा १ दिन बिदा दिइन्थ्यो,’ सन्तोषले भने, ‘काम नगरी दिन काट्न मलाई गाह्रो हुन्थ्यो, त्यही तलबमा काम गरें । मेरो काम देखेर ६ महिनापछि तलब बढेर ३६ हजार रुपैयाँ पुग्यो । त्यसको ६ महिनामै तलब ५० हजार रुपैयाँ पुग्यो । बढ्दै जाँदा मासिक ६ लाख रुपैयाँसम्म तलब लिने भएँ ।’

विदेशमा घुलमिल भएपछि पैसा तथा मान–सम्मान राम्रै पाएको उनी बताउँछन् । ‘काम गर्नेलाई जहाँसुकै सबैले प्यारो मान्छन्,’ उनले भने, ‘दुबईमा मलाईभन्दा पनि मेरो कामलाई प्यारो मान्थे ।’ उनी घर फर्किंदा तलब सहितको बिदा पाउँथे ।

उनी घर फर्किएको बेला पुरानै चिया पसलमा गए तर उनलाई कसैले चिनेनन् । त्यतिबेला उनले भाइको नामबाट ‘फलानाको दाइ’ भनेर चिनिनुपर्‍यो । यस्तो भोगाइले उनको मनमा छोयो र उनले स्वदेशमै केही गर्नुपर्ने सोच बनाए ।

स्वदेश फर्केरै केही गर्ने सोच बोकेर उनी फेरि दुबई गए । त्यहाँ उनीसहित गाडी दुर्घटनामा परे । दुर्घटनामा केही नेपालीको मृत्यु समेत भयो । त्यो घटनापछि उनी दुबईमा नबस्ने निष्कर्षमा पुगे ।

आफू स्वदेश फर्किन चाहेको कुरा उनले मालिकालाई सुनाउँदा मालिकले तलब बढाइदिने तर दुबईमै बस्न आग्रह गरे । तर उनले मानेनन् । ‘म स्वदेश फर्किने भएपछि मालिकले आफैं बिदाइ कार्यक्रमको आयोजना गरेर थप सफलताको शुभकामना भनेर ८ महिनाको तलब पनि बोनसमा दिए,’ उनले भने ।

उनले स्वदेश फर्किएर बेलबारीमै केही गर्ने योजना बनाए । केही साथीभाइसँग पनि सल्लाह गरे । उनीसहित ५ जना मिलेर थोरै लगानीमा दाना उद्योग खोल्ने योजना बनाए । २ लाख रुपैयाँको मशिन ल्याएर दाना उद्योग शुरू गरेको उनले बताए ।

२०७१ सालमा स्थापना गरिएको उद्योगमा जम्मा १४ लाख रुपैयाँ लगानी गरेको उनले बताए । उद्योगमा तुरुन्तै नाफा नहुने, धेरै खट्नुपर्ने जस्ता समस्याले केही साथीले बीचमै छाडेको उनले बताए ।

तुरुन्तै प्रतिफल चाहिन्छ भन्ने साथीभाइलाई बिदा गरेको उनले बताए । भाइ कवीन्द्र प्रसाई, अनिल सुवेदी र आफू गरी ३ जनाले उद्योग सञ्चालन गरिरहेका उनले बताए । 

बेलबारी कृषक दाना उद्योग नाम दिएर खोलेको उद्योगमा कुखुरा, सुँगुर र गाईका लागि आहारा उत्पादन गरिन्छ । १४ लाख रुपैयाँबाट शुरू गरेको उद्योगले गत वर्ष ३० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रसाईले बताए । उद्योग शुरू गरेपछि भारतका २०० भन्दा बढी दाना उद्योगमा घुमेको उनले बताए ।

दाना उद्योग खोल्दा शुरूमा निकै कष्ट भोग्नुपरेको उनले बताए । ‘भारतबाट मशिन ल्याएर फिट गर्न खोज्दा फिट भएन अनि रातभरि काम गर्दा पनि नभएपछि राति नै भारत गएँ,’ उनले भने ।

शुरूशुरूमा राति १२–१ बजेसम्म पनि काम गरेको उनले बताए । दाना उद्योगमा सफलता मिल्दै गएपछि विद्युतीय गाडीको व्यवसाय थप गरेको उनले बताए । ‘विद्युतीय गाडीको व्यवसाय शुरू गर्दा धेरैले मूर्ख समेत भने, जसले मूर्ख भनेका थिए अहिले उनीहरू नै गाडी अर्डर गरिरहेका छन्,’ उनले भने ।

नेपालमै विद्युतीय स्कुटर तथा मोटरसाइकल बनाउने गरी काम अगाडि बढाएको उनले बताए । उद्योगमा ५० जनाले रोजगारी पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्