
न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले देशमा ओमिक्रोनको केसहरू बढेपछि विवाह समारोह रद्द गरेकी छन् ।
ओमिक्रोन भेरिएन्ट देशभरि फैलिएपछि कडा नियन्त्रणका उपाय अपनाइएका छन् ।
समारोहहरूमा खोप लगाएका १०० जनासम्म भेला हुन पाउँछन् । पसल र सार्वजनिक यातायातमा मास्क अनिवार्य छ ।
न्युजील्यान्डमा १५ हजार १०४ कोभिड केस छन् भने ५२ जनाको मृत्यु भएको छ ।
क्लार्क गेफोर्डसँगको विवाह रद्द गरिएको आर्डर्नले आइतवार पत्रकारहरूलाई बताइन् ।
‘महामारीको गम्भीर असर परेका हजारौं अन्य न्युजील्यान्डवासीहरूभन्दा म फरक छैन । प्रिय व्यक्तिहरू गम्भीर बिरामी हुँदा उनीहरूसँग बस्न नपाउँदा धेरै पीडा हुन्छ,’ उनले बताइन् ।
‘उनीहरूको पीडा मेरो भन्दा धेरै गहिरो छ,’ उनले थपिन् ।
कोरोना नियन्त्रणका नियमहरू आइतवार मध्यरातबाट लागू गरिनेछन् ।