
कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-४ का ५३ वर्षीय रामदास डंगौराको आइतवार मृत्यु भएको हो ।
वडा नम्बर ४ का वडाध्यक्ष भिखराम चौधरीका अनुसार उनी आइतवार दिउँसो कैलारी गाउँपालिकाकै वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाइसकेपछि हिँडेरै घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
स्वास्थ्य चौकीका अनुसार उनको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।
मृतक डंगौराको घर र स्वास्थ्य चौकीबीचको दूरी करीब ५ सय मिटर मात्रै रहेको बताइएको छ । उनी हिँडेर स्वास्थ्य चौकी पुगेका थिए । स्वास्थ्य चौकी पुग्दा उनको स्वास्थ्य अवस्थामा पनि सामान्य रहेको आधारभूत स्वास्थ्य चौकी प्रमख रमेश रोकायाले बताए ।
डंगौराले खोपको पहिलो मात्र गत मंसिर १३ गते लगाएका थिए ।
मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । मृतकका आफन्त, स्वास्थ्य चौकी, स्थानीय प्रशासनबीच अहिले छलफल भइरहेको छ ।
कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले घटना र खोपबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइसकेको जानकारी पनि दिएका छन् । तर, अहिले नै खोपकै कारण अप्रिय घटना घटेको भन्न नमिल्ने सापकोटाको भनाइ छ ।