
ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन् । शुक्रवार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्याएर पठाओ राइडरलाई लुटिएको हो ।
उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लुटपाट गरेको महानगरीय प्रहरी वृत्त सातदोबोटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।
उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमनले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्याइदिन आग्रह गरेका थिए ।
तामाङले सामान्य रुपमा पठाओको विधि पूरा गरी लोकेसन हालेका थिए । त्यसपछि प्रविनले तामाङलाई धापाखेल पुर्याए ।
प्रहरीका अनुसार धापाखेलमा पुगेपछि तामाङले अर्को साथी मनराजलाई बोलाएर २ जना मिलेर लुटपाट गरी राइडरको मोटरसाइकल समेत लुटेर फरार भएका थिए ।
दुवै हात बाँधिएको अवस्थामा प्रविनलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि घटनास्थल पुगेको प्रहरीले प्रविनलाई अस्पताल पुर्याएर उपचार गरी अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले लुटपाट गर्ने तामाङसहित दुवै जनालाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको हो ।
लुटेको मोटरसाइकल बेच्ने क्रममा प्रहरीले तामाङ र राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।