दमक, १६ असार- मत गणना कार्य निष्पक्ष नभएको भन्दै झापा दमक नगरपालिकाको मतगणना स्थगित भएको छ । दमक नगरपालिका तीन उम्मेदवारहरुले मतगणनाको विरोध गरेका छन् । उनीहरुसँगै अन्य चार स्वतन्त्र उम्मेदवारले विरोध जनाएका छन् ।

उनीहरुले तीन बुंदे माग अघि सार्दै आफ्नो माग पूरा नभएसम्म मत गणना अघि नबढाउन माग राखेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर र उपमेयरका उम्मेदवार तथा मेयर पदका स्वतन्त्र उम्मेदवारहरु ओमनाथ बस्नेत, देवीप्रसाद गौतम, सुन्दर देवान र मधु थापामगरले संयुक्त रुपमा विज्ञप्ति जारी गरी गणना कार्यप्रति आशंका व्यक्त गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले दमकमा खटिएका निर्वाचन अधिकृत वेदराज फुयाल, इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजन लिम्बूको गतिविधि निष्पक्ष नदेखिएकोले उनीहरुलाई फिर्ता बोलाउनुपर्ने तथा नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाललाई गणना स्थलमा प्रवेश गर्न रोक लगाउनुपर्ने माग राखेका छन् । साथै निर्वाचन कार्यालयमा पुनस् मत गणनाको माग गर्दै निवेदन परेको छ ।
निर्वाचन अधिकृत फुयालका अनुसार नेकपा एमाले र राप्रपाले पुनस् गणनाको माग गर्दै निवेदन दिएका हुन् । निवेदनमाथि छलफल गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको फुयालले बताए । फुयालका अनुसार दमकको वडा नं. १ को मत गणना कार्य सकिएको छ ।
सो वडाको वडाध्यक्षमा एमाले र राप्रपाका उम्मेदवारले समान मत प्राप्त गरेकोले पुनस् गणनाको निवेदन परेको अधिकृत फुयालले जानकारी दिए । बराबरी मतका बारेमा भने फुयालले केही बताउन चाहेनन । दमकमा गएराती साढे १० बजे पछिल्लो मत परिणाम सार्वजनिक गरिएको थियो । त्यसपछि अहिलेसम्म आधिकारिक रुपमा मत परिणाम सार्वजनिक गरिएको छैन ।
परिणाम सार्वजनिक नगरिदा पार्टी समर्थक एवं सर्वधाराणले आक्रोश व्यक्त गर्न थालेका छन् । मत परिणाम सार्वजनिक नगरेको तथा निर्वाचन अधिकृतको विरोध गर्दै गणना स्थलबाहिर माओवादी, राप्रपा र कांग्रेस समर्थकहरुले नाराबाजी समेत गरेका छन् ।