३० जेठ २०८३, शनिबार

पानीकाे लडाइँको कथा 'दी प्रोफेसर'

माघ १०, २०७८
पानीकाे लडाइँको कथा 'दी प्रोफेसर'

 इमरान   अकबर इनमदारद्वारा  निर्देशित 'दी  प्रोफेसर’  आईआईटी, दिल्लीका  पूर्वप्राध्यापक  आलोक  सागरको  सत्य कथामा  आधारित  छोटो  चलचित्र  हो ।

 चलचित्र आलोक सागरको जीवनको वरिपरि घुम्छ, जसले मध्यप्रदेशमा   आदिवासी   समुदायको   उन्नतिका लागि आफ्नो जीवन बलिदान गरेका थिए ।

यस्तै  चलचित्रमा  एउटा  पत्रकारले  कसरी आलोकको  कथा  उठाउँछन्  र  अन्ततः  आलोक सागरको  जीवनका  अनगन्ती  कुरा  थाहा  पाउने मौका पाउँछन् भन्ने कुरालाई पनि देखाइएको छ ।

पूर्वप्राध्यापक  आलोक  सागरबाट  प्रेरित  पात्र आलोक  कुमार  आफ्नो  परिवार  र  सम्पूर्ण  जीवन छाडेर   मध्यप्रदेशको   तिकमगढमा   आदिवासी समुदायसँग  बस्दै  आएका छन्।

 तिकमगढ यस्तो गाउँ हो जहाँ बस्नलाई घर त छ तर पिउने पानीको चरम अभाव छ ।

कुमार एउटा यस्तो पात्र हुनुहुन्छ जसले आदिवासी समुदायको बीचमा बसेर उनीहरूको  जीवनस्तर  माथि  उठाउने  प्रयत्न  पनि गर्छन्।

उनले आफ्नो सम्पूर्ण जीवन आदिवासी समुदायको   मद्दतमा   नै   बिताए ।  

आफू अलग  जिल्ला  कोचुमुवामा  बस्ने  भए  पनि  उनले तिकमगढका  जनताका  लागि  नै  आफ्नो  सम्पूर्ण समय  दिए।  

कुमारले  गाउँका  जनताले  पानी पिउन  पाउन्  भनेर  आफ्नो  गाउँ  कोचुमुवाबाट  १२ किमि साइकलमा तिकमगढसम्म पानी ओसारपसार गर्ने काम पनि गर्थे।

चलचित्रको  सुरुवात  कुमारसँगै  आदिवासी समुदायका  अन्य  सदस्यहरू  पानी  पम्पको  छेउमा पर्खिरहेका  दृश्यबाट  हुन्छ ।

 अन्य  ठाउँमा  जस्तै आदिवासी  बस्तीमा  पनि  विगत  तीन  दिनदेखि पानी आपूर्ति भएको छैन । कुमार पानीको गुनासो लिएर  गाउँका  अफिसर  घनश्यामकहाँ  पुग्छन् तर उनले कुमारलाई पानी चाँडै आउने सान्त्वना दिएर फिर्ता पठाइदिन्छन् ।

 यसैबीच  मुम्बईबाट  एक  पत्रकार  कुमारको खोजी गर्दै गाउँ पुग्छन् । उनले कुमारलाई भेट्न त भेट्छन् तर कुमार आफ्नो कथा सबैलाई सुनाउन चाहन्छन् ।

पत्रकारको धेरै प्रयासपछि कुमार आफ्नो कथा  भन्न  राजी  हुन्छन् र  शुरू  हुन्छ  दुईबीचको कुराकानी ।

पत्रकार  र  कुमारबीचको  कुराकानी वरिपरि नै चलचित्रको कथा घुमेको छ । पत्रकारले कुमार र आदिवासीको बारेमा कलम पनि  चलाउँछन् ।

पत्रकारको  लेखले  केही  सरकारी अधिकारीहरूलाई गाउँमा पानीको अभाव हेर्न उत्प्रेरित गर्छ,  तर  अन्त्यमा  कुमार  र  अन्य  गाउँले  अझै पम्पमा  पर्खिरहेका  हुन्छन्,  पानी  आउने  आशामा ।

चलचित्रमा कुमार भारतीय पूर्वराष्ट्रपति स्व. अब्दुल जे  कलामबाट  प्रभावित  भएको  देखाइएको  छ ।

चलचित्रमा साना साना कुरालाई निर्देशकले भिन्न र बेजोड ढङ्गबाट प्रस्तुत गरेका छन् । चलचित्र वास्तविक समस्या भएका मानिसको बारेमा एउटा कथामा आधारित लघुकथा हो ।

पानीको चरम  अभावदेखि  वातावरण  संरक्षणको  सवालसम्म चलचित्रका   निर्देशक   इनमदारले   चलचित्रमार्फत पस्केका  छन् ।

 २०  मिनेट  अवधिको  चलचित्रले 'दादाशाहेब  फाल्के  गोल्डेन  क्यामेरा  अवार्ड’,  र विभिन्न फिल्म फेस्टिभलमा विभिन्न अवार्ड जितेको छ ।  

चलचित्रमा  जयश  पाण्डे,  सचित  आचार्य  र सचिन के जरयालले अभिनय गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्