बलिउड सुपरस्टार सलमान खान र उनका छिमेकी केतन कक्कडबीचको विवाद बढिरहेको छ ।
केही दिनअघि मात्र पनवेल फार्महाउसमा सलमानका छिमेकी कक्कडमाथि सलमानले मानहानिको मुद्दा दर्ता गरेका थिए । एक युट्युब अन्तर्वार्तामा कक्कडले आफूलाई बदनाम गरेको सलमानको आरोप छ ।
कक्कडले सलमानको फार्महाउसमा फिल्म स्टारहरूको लाश गाडिने दाबी गरेका थिए । त्यहाँ बालबालिकाको तस्करी गरिने गरेको पनि कक्कडको दाबी छ ।
सलमानका वकिल प्रदीप गान्धीले विना कुनै प्रमाण यस्तो आरोप लगाइएको र सलमानको मानसम्मानमा आघात गरिएको जिकिर गरेका छन् ।
केतन कक्कडले चाहिँ आफूलाई सलमानले जग्गा भएको ठाउँमा जान नदिएको आरोप लगाएका छन् ।
पनवेल फार्महाउसको नाम सलमानकी बहिनीको नाममा अर्पिता फार्म्स राखिएको छ । यो १५० एकडमा फैलिएको छ र विलासिताका सबै वस्तुहरू छन् । सलमान पार्टी गर्न वा छुट्टी मनाउन पनवेल फार्महाउस जाने गरेका छन् ।