
काठमाडौं तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिँदै गरेको टेलिकमको तार चोरी गरेको आरोपमा पाँच जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका-७ घर भएका २३ वर्षीय प्रेम बहादुर बोहरा, काठमाडौं सुकेधारा डेरा गरी बस्ने कैलाली घोडाघोडी नगरपालिका-२ घर भएका २५ वर्षीय नमेश बुढा, गोरखा सिराञ्चोक गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर, काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २४ वर्षीय गोबिन्द साउँद र काठमाडौं महानगरपालिका-१६ नयाँ बजार बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ३० वर्षीय प्रबिन कार्की रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं तारकेश्वर नगरपालिका-६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३ -०१-०२३ च.४३०१ नम्बरको हात्ती गाडी जंगलतर्फ गइरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो पारेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
साथै उनीहरूको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र ११४ मिटर कालो टेलिफोनको तार समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूमाथि महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।