सर्लाहीको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकाले प्रत्येक परिवारलाई ग्यास चुलो वितरण गर्न शुरू गरेको छ ।
गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत गाउँपालिका कार्यालयले विनियोजन गरेको बजेटबाट यस वर्ष दुई हजार ३३१ परिवारलाई ग्यास चुलो वितरण गर्ने लक्ष्यसहित वितरण गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले जानकारी दिए ।
उनका अनुसार अघिल्ला दुई वर्षमा दुई हजार पाँच सय परिवारलाई ग्यास चुलो वितरण गरिएको थियो ।
गत वर्ष छुटेका परिवारलाई अहिले ग्यास चुलो वितरण गर्ने क्रम चलिरहेको छ । यसअघि वडा नं. ४, ५ र ६ वडाका बासिन्दालाई ग्यास चुलो वितरण गरिएको थियो ।
यस वर्ष वडा नं. १, २, ३, ७ र ८ का बासिन्दालाई ग्यास चुलो वितरण भइरहेको विष्णु गाउँपालिकाले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।